काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र स्टक ब्रोकर एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा ‘पुँजी बजार सुदृढीकरणका लागि प्रविधि, सुशासन र अनुपालन’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
गत शुक्रवार सम्पन्न कार्यक्रममा नेप्सेका ९२ कारोबार सदस्य (ब्रोकर र डिलर)का प्रमुख कार्यकारी अधिकृत र सूचना प्रविधि सम्बद्ध कर्मचारीको सहभागिता थियो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष श्रेष्ठले वित्तीय बजारमा नियमन र सुपरीवेक्षणमा राज्यले विशेष महत्त्व दिने बताए ।
बजार सहभागीहरूलाई नियमन र सुपरिवेक्षणको साथसाथै क्षमता अभिवृद्धि गर्न यस प्रकारका कार्यक्रमहरू पनि निरन्तर सञ्चालन हुनुपर्ने धारणा अध्यक्ष श्रेष्ठले राखे ।
कार्यक्रमको सभापतित्व गरेका नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले प्रविधि, सुशासन र अनुपालन हाल पूँजीबजारको सबैभन्दा महत्त्वपूर्ण विषय भएकाले सोलाई ध्यानमा राखी कार्यक्रमका आयोजना गरिएको बताए ।
यसबाट लगानीकर्तालाई सहज, सुरक्षित र विश्वसनीय कारोबार सेवा प्रदान गर्न सहयोग मिल्ने अपेक्षा समेत उनले राखे । सहआयोजक संस्था स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्जमा पछिल्लो समयमा देखिएका सकारात्मक परिवर्तनको चर्चा गरे । उनले पूँजीबजार सुदृढीकरणका लागि सम्बद्ध सबै निकायले एउटै धारणा लिएर अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डा. हरिकुमार नेपालले धितोपत्र बजारमा सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रण सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
यसैगरी सिडिएस एन्ड क्लियरिंग लि. का उपप्रबन्धक योगराज जोशीले कारोबार राफसाफ तथा फछ्यौट, नेप्सेका सहायक आइटी प्रबन्धक निशा तिमिल्सिनाले नट्स सञ्चालन, नेप्सेका सहायक आइटी प्रवन्धक निरन्जन सिंह नायकले टिएमएस सञ्चालन, नेप्सेका सहायक प्रबन्धक गिरिराज दाहालले दोश्रो बजार सम्बन्धी कानुनी व्यवस्था र नेप्सेका कामु नायब प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले समग्र दोश्रो बजार कारोबार सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
नेप्सेका प्रबन्धक लिलाधर सुवेदीले स्वागत मन्तव्य राखेका थिए भने वरिष्ठ अधिकृत सन्तोष आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।