काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तेह्रथुम पावर कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद शेयरपछिको शेयर मूल्य तोकेको छ ।
नेप्सेले आइतवार कम्पनीको शतप्रतिशत हकप्रद शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । बिहीवार कायम कम्पनीको अन्तिम शेयर मूल्य ५९४ रुपैयाँ ११ पैसाको आधारमा नेप्सेले कम्पनीको शतप्रतिशत हकप्रद शेयरपछिको मूल्य प्रतिकित्ता ३४७ रुपैयाँ ६ पैसा तोकेको हो ।
यस कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट वैशाख १९ गते अनुमति प्राप्त गरेको छ ।
निष्कासन मिति तय गर्न बाँकी रहेको कम्पनीले जेठ ५ गते भने बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा नेप्सेले हकप्रद पछिको मूल्य तय गरिदिएको हो ।
बुक क्लोजको आधारमा जेठ ४ गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् । कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँको आधारमा सोही रकम बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ८० करोड रुपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।