काठमाडौं । अन्तिम १५ मिनेटको कारोबार समयसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मान्ने व्यवस्था बिहीवारदेखि लागू हुने भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)को चैत ६ गते बसेको सञ्चालक समिति बैठकले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को चौथोपटक संशोधित उक्त व्यवस्था लागू गर्ने निर्णय गरेको हो । नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले अन्तिम कारोबार समय २:४५ देखि ३:०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मान्ने व्यवस्था लागू गर्न लागिएको बताए ।
यसअघि कुनै पनि कम्पनीको अन्तिममा भएको कारोबार मूल्यलाई अन्तिम मूल्य मानिँदै आइएकोमा अब भने पछिल्लो १५ मिनेटमा भएको कारोबार मूल्य र कित्तालाई आधार मानेर भारित औसत मूल्य गणना गरिने पराजुलीले स्पष्ट पारे । पछिल्लो समय अन्तिम मिनेटमा कुनै पनि कम्पनीको कारोबारमा अस्वाभाविक चलखेल भई मूल्यमा उतारचढाव देखिएसँगै नेप्सेले विनियमावली संशोधन गरेको भनाइ पराजुलीको छ । अन्तरराष्ट्रिय अभ्याशहरूको अध्ययन गरी नेपालको सन्दर्भमा अनुकूल हुने गरी विनियमावली संशोधन गरी लागू गरिएकाले भोलिका दिनमा कुनै पनि कम्पनीको शेयरमूल्यमा अस्वाभाविक उतारचढाव नदेखिने अपेक्षा गरिएको उनले बताए ।
नेप्सेले संशोधन गरेको उक्त व्यवस्था नेपाल धितोपत्र बोर्डले फागुन १८ गते स्वीकृत गरेको थियो । नेप्सेले अन्तिम कारोबार समय समेत २:४५ देखि ३:०० बजेसम्म कायम हुने गरी विनियमावली संशोधन गरेको हो । नेप्सेले मूल विनियमावलीको विनियम ११ को उपविनियम (१) को खण्ड (ग) हटाएको छ । यो व्यवस्था हालसम्म कार्यान्वयनमा नआएको र व्यावहारिकसमेत नभएको भन्दै हटाएको नेप्सेले जानकारी दिएको हो । उक्त खण्डमा अन्तिम कारोबार समय ३:०० बजेदेखि ३:०५ सम्म रहेको थियो ।
धितोपत्र कारोबार सञ्चालन विनियमावलीको दफा ११ मा कारोबार सञ्चालनसम्बन्धी व्यवस्था छ । बिहान १०:३० देखि ११:०० बजेसम्म प्रारम्भिक कारोबार हुने, मध्याह्न ११:०० देखि ३:०० बजेसम्म बोलकबोल र निरन्तर कारोबार हुने तथा अपराह्न ३:०० देखि ३:०५ बजेसम्म अन्तिम कारोबार हुने व्यवस्था यसअघि थियो । नेप्सेको पछिल्लो व्यवस्थाअनुसार यसअघिको मध्याह्नको कारोबार समयलाई २:४५ देखि ३:०० बजेसम्म कायम गरिएको हो । यो समय नै धितोपत्र कारोबारको अन्तिम समय हुनेछ ।