काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक २० दशमलव ४६ अंक घटेर बन्द भएको छ । यस दिन नेप्से २ हजार ६६१ दशमलव ०९ विन्दुमा कायम भएको हो ।
अघिल्लो कारोबार दिन नेप्से ११३ अंक बढेको थियो । बढेको बजारमा नाफा बुक गर्ने हाबी भएसँगै आज बजार घटेको जानकार बताउँछन् । यस दिन इन्ट्राडेमा नेप्से २ हजार ७३७ दशमलव ३७ विन्दुसम्म पुगेको थियो । तर, त्यसपछि विक्रेता हाबी भएपछि नेप्से घटेको हो ।
यस दिन कारोबार रकम भने ३ वर्षयताकै उच्च हो । यसअघि २०७८ भदौ ३ गतेको कुल कारोबार रकम रू. २० अर्ब ४० करोड थियो ।
बजार बढिरहेकाले नयाँ लगानीकर्ता भित्रिँदा र पुराना लगानीकर्ता आकर्षित हुँदा शेयर कारोबार बढेको जानकार बताउँछन् । यस्तै, बैंकहरूले सस्तो ब्याजदरमा शेयर कर्जा दिएकाले पनि कर्जा लिएर शेयर लगानी गर्नेहरू बढ्दा कारोबार रकम थप बढेको उनीहरूको भनाइ छ ।
मौद्रिक नीति, लचिलो, सहज र लगानीमैत्री आएको छ । संस्थागत लगानीकर्ताका कर्जामा २० करोडको सीमा हटाइएको छ । यस कारण पनि शेयर बजारमा सकारात्मक प्रभाव पर्ने देखिन्छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ९६ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ८३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशलमव १७ प्रतिशत घटेको छ ।
३२५ धितोपत्रको ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता शेयर २ लाख २२ हजार ६६० पटकमा रू. १९ अर्ब ६० करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये नेपाल फाइनान्सको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ७७ प्रतिशत वृद्धि भएको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ६२९ पुगेको हो । शेयर मूल्य सर्वाधिक बढ्ने सूचीमा दोस्रोमा मन्दाकिनी हाइड्रोपावर छ । कम्पनीको शेयर मूल्य ८ दशमलव ५८ प्रतिशत बढेर रू. ८१० पुगेको छ ।
सोमवार सबैभन्दा बढी आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ८ दशमलव ३५ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार २४७ मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्नेमा दोस्रोमा बोटलर्स नेपाल बालाजु छ । कम्पनीको शेयर मूल्य ७ दशमलव ९९ प्रतिशत घटेर रू. १९ हजारमा कायम भएको छ ।
यस दिन शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा शिवम् सिमेन्टले ओगटेको छ । कम्पनीको रू. ६१ करोड १२ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६१६ कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा कुमारी बैंक छ । बैंकको रू.५५ करोड २२ लाख बराबरको शेयर कारोबार भएको हो ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये दुई समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी १ दशमलव ८८ प्रतिशत बढेको छ भने व्यापार समूहको सूचक सबैभन्दा बढी ४ दशलमव ५४ प्रतिशत घटेको छ ।