बजारको मागअनुसार सम्बन्धित विषय पढ्ने विद्यार्थीको संख्या निर्धारण हुन्छ । पहिले विद्यार्थी जुन विषय पढ्थे, अहिले ती विषयप्रति आकर्षण घटेको छ । तर, सबै विषयलाई त्यसो भन्न मिल्दैन । पहिले पढाइ हुने विषयको पढाइ अहिले पनि भइरहेको छ । पहिले पढाइ हुने विषय अहिले शून्यको अवस्थामा पनि झरेको छ ।
पहिलेको भन्दा अहिले विद्यार्थी घट्नुको मुख्य कारण नेताहरूको ‘प्राविधिक शिक्षा’ भन्ने बकबक हो । उनीहरूले सैद्धान्तिक विषयको बारेमा गलत प्रचार गराइदिनु उचित थिएन । समयले फरक पारेका कारण पनि अहिले विद्यार्थी कानून विषयमा आकर्षित भएका छन् । कानून पढ्न सजिलो र प्रत्येक गाउँपालिकाले एक जना कानून अधिकृत राख्नुपर्ने भएर कानूनप्रति रुचि बढेको हो ।
सबै विषय आफ्नो ठाउँमा उत्कृष्ट नै छन् । कुनै पनि विषयलाई बेवास्ता गर्दा त्यसले दीर्घकालीन असर पार्छ । उदाहरणका रूपमा अमेरिकाले जापानको नागासाकी र हिरोसिमामा बम खसेका बेला वैज्ञानिकले कसरी बम खसालेर ध्वस्त बनाउने भन्ने मात्र सोचेकाले त्यस्तो गम्भीर अवस्था आएको हो । ती वैज्ञानिकले मानव शास्त्रबारे अध्ययन गरेको भए त्यस्तो हुने थिएन । त्यसैले, सबै विषयको अध्ययन अध्यापन सन्तुलित रूपमा नभए अबका केही वर्षमा मानिस यान्त्रिक बन्नेछन् । त्यसले मानव संवेदनशीलता हराउँदै जानेछ । मानिस मानिस नभएर यन्त्र हुनेछन् ।