असार १३, काठमाडौं । पछिल्लो तीन दिन यता न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
शुक्रवार असार १० गतेदेखि कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । साथै सोही दिन ङादी ग्रुप पावर कम्पनीले १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड ( सेबोन) बाट अनुमति पाएको थियो । शुक्रवारको दिनदेखिनै न्यादी हाइड्रोपावर कम्पनीको शेयरमा खरीदकर्ता आर्कषण हुनमा ङादी र न्यादीमा लगानीकर्ता झुक्किएको देखिन्छ ।
ङादी ग्रुप पावर कम्पनीको शेयरमूल्य हकप्रद शेयर निष्कासन गर्न बोर्डबाट अनुमति पाउँदाको दिन खासै बढेको थिएन भने आइतवार भने कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो । सोमवार भने ङादी ग्रुप पावरको शेयरमूल्य ४ दशमलव ८४ प्रतिशत घटेको छ भने न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको नाममा लगानीकर्ता झुक्किएको जस्तो देखिन्छ ।
लामो समय शेयर बजारमा सक्रिय लगानीकर्ता डम्मरु बल्लभ कोइरालाका अनुसार यी दुई कम्पनीको नाम उस्ता उस्तै जस्तो रहेकाले अधिकांश लगानीकर्ता झुक्किने सम्भावना रहेको छ । उनी पनि वित्तीय अवस्था राम्रो भएको र प्रतिफल नदिएको कम्पनीको शेयरमूल्य बजार घट्दा पनि सकारात्मक सर्किट लाग्दा अच्चममा परेको बताउँछन् ।
सोही कारण पनि लगानी गर्नु पूर्व कम्पनीको आधारभुत पक्ष र प्राविधिक पक्ष राम्रो सँग केलाएर लगानी गरेमा प्रतिफल प्राप्त हुने देखिन्छ । ङादी ग्रुप पावरको शेयर मूल्य प्रतिकित्ता रू. ५५० र न्यादी हाइड्रोपावरको रू. ३३० रहेको छ ।
ङादी ग्रुप पावर कम्पनीको चुक्तापूँजी रू. ७० करोड ६९ लाख रहेको छ भने कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा जगेडामा रू. ६ करोड १७ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले रू. ५ करोड ४४ लाख नाफा कमाएको छ। प्रतिशेयर आम्दानी रू. १० दशमलव २७ रहेको छ । यस कम्पनीले आव २०७७/ ७८ सम्मको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशलमव ०५ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
त्यसैगरी न्यादी हाइड्रोपावर कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ करोड ८३ लाख नोक्सानीमा रहेको छ। गत आवको तेस्रो त्रैमाससम्ममा पनि कम्पनी रू. ६७ लाख ७० हजार नोक्सानीमा थियो । हालसम्ममा यस कम्पनीले शेयरधनीलाई कुनै पनि लाभांश दिएको छैन ।