असार २३, प्यूठान । अझैपनि ग्रामीण क्षेत्रको शिक्षामा सबैको समान पहुँच पुग्न सकेको छैन । जसका कारण पनि प्यूठानका धेरै बालबालिका शिक्षाको पहुँचभन्दा बाहिर रहेका छन् भने आर्थिक अवस्था कमजोर हुँदा धेरैले बिचमै पढाइ छोड्नुपर्ने बाध्यता छ ।
तर, प्यूठानको केही स्थानीय तहले शिक्षामा सबैको समान पहुँच पुर्याउन भन्दै कक्षा १ देखि कक्षा १० सम्म निःशुल्क शिक्षा लागू गर्ने भएको छ । प्यूठानका स्थानीय तहले आर्थिक वर्ष २०७८/०७९ को नीति, कार्यक्रम र बजेटमा निःशुल्क शिक्षाका लागि बजेट विनियोजन गरेको छ ।
पालिकाभित्रका सबै बालबालिकालाई विद्यालय क्षेत्रभित्र ल्याउन यो कार्यक्रम ल्याएको ल्याएका हुन् । वैशाखमा नयाँ शैक्षिक शत्र शुुरु हुनुपर्ने भएपनि कोरोना महामारीका कारण असारबाट मात्र नयाँ शैक्षिक शत्र शुरु भएको छ ।
कोरोनाका कारण अभिभावकको आयस्रोतमा कमी भएपछि प्यूठानको झिमरुक गाउँपालिकाले भने निःशुल्क विद्यार्थी भर्ना अभियान थालेको छ । नेपाल सरकारले निःशुल्क शिक्षा लागू गरेपनि प्यूठानका सामुदायिक विद्यालयले अस्थायी, निजी शिक्षकको तलबका लागि भन्दै विद्यार्थीबाट भर्ना शुल्क लिदै आएका थिए ।
तर, स्थानीय तहले बजेट विनियोजन गरेपछि विद्यार्थीले शुल्क तिर्नुपर्ने बाध्यता हटेको हो । झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि विद्यालयमा विद्यार्थीको आकर्षण बढ्ने झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जीसीले बताए । ‘सरकारले निःशुल्क शिक्षा घोषणा गरेपनि पालिकाका सामुदायिक विद्यालयले निजी शिक्षकका लागि भन्दै विद्यार्थीबाट भर्ना बापतको रकम लिदै आएका थिए’ तर अहिलेदेखि पालिकाले विद्यार्थीको भर्ना निःशुल्क गरेको छ’ उनले भने, ‘अब केहि पनि पैसा नभएर विद्यालय जान नपाउने तथा बिचैमा पढाइ छाड्नु पर्दैन ।’
झिमरुक गाउँपालिकाका सामुदायिक विद्यालयले विद्यार्थी भर्नाबाट ३५ लाख रुपैयाँ उठाउँदै आएका थिए । तर विद्यार्थी भर्नाका नाममा उठाउँदै आएको रकम पालिकाले व्यवस्था गरेपछि अभिभावक तथा विद्यार्थी भने खुसी भएका छन् । अहिले प्यूठानमा भर्ना शुल्क तिर्नुपर्ने बाध्यता हटेपछि आर्थिक अवस्था कमजोर भएका अविभावकले पनि विद्यालय पठाउन सक्ने अवस्था आएको अभिभावकको भनाइ छ ।
त्यस्तै, प्यूठानको प्यूठान नगरपालिकाले गत वर्षदेखि नै निःशुल्क विद्यार्थी भर्ना गर्दै आएको छ । सरकारको नीति नै निःशुल्क शिक्षा प्रदान गर्ने भएपनि सरकारी विद्यालयमा आवश्यक शिक्षक नहुँदा विद्यालयले निजी कोटामा शिक्षक राख्दै आएका थिए ।
जसका लागि विद्यार्थीबाट भर्ना शुल्क उठाउनुपर्ने बाधयता रहेको थियो । तर, अहिले यस वर्ष केन्द्र सरकारदेखि स्थानीय तहले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन् । जसले गर्दा शिक्षा क्षेत्रमा केहि सुधार हुने विश्वास गरिएको छ ।