नेपालमा अहिले ७४ हजारभन्दा बढी दर्ता भएका नर्सिङ जनशक्ति छन् । सरकारी स्वास्थ्य संस्थामा करीब १० हजार र निजी स्वास्थ्य संस्थामा २२ हजारदेखि २४ हजार नर्स कार्यरत छन् । यकिन तथ्याङ्क नभए पनि सरकारी तथा गैरसरकारी संस्थामा १ हजार नर्स कार्यरत रहेको हुन सक्ने नेपाल नर्सिङ सङ्घको अनुमान छ । ‘होम केयर’ र केही निजी विद्यालयका साथै उद्योगमा न्यून सङ्ख्यामा नर्सले काम गरिरहेको पाइन्छ ।
यो तथ्याङ्कले स्वदेशमा रहेका ७४ हजार नर्समध्ये ३६ हजार हाराहारी नर्सले मात्र रोजगारी पाइरहेको देखाउँछ । बाँकी ३८ हजार नर्स स्वदेशमा रोजगारी नपाउँदा विकल्प खोज्दै वैदेशिक रोजगारीमा वा अन्य पेशा व्यवसायमा आबद्ध हुनुपर्ने अवस्था छ ।
नेपालमा रोजगारी नपाएका वा अवसरको खोजीमा विदेश जाने नर्सको सङ्ख्या पनि पछिल्ला वर्षहरूमा बढ्दै गएको छ । पछिल्लो १६ वर्षमा ९ हजार ३ सय ९४ जना नर्स विदेशमा अध्ययन वा रोजगारीका लागि गएको नेपाल नर्सिङ परिषद्को तथ्याङ्क छ । अझ पछिल्लो २–३ वर्षमा विदेश जाने नर्सको सङ्ख्या बढेको छ । परिषद्मा दर्ता नभएका र जानकारी नदिई जाने नर्सको सङ्ख्या पनि बढिरहेको परिषद्को भनाइ छ । विदेशमा अध्ययन वा रोजगारीका लागि जाने नर्सको वास्तविक तथ्याङ्क भने अहिलेसम्म कुनै पनि निकायसँग छैन । विदेश जाने नर्सको तथ्याङ्क यकिन गर्न कुनै एउटा निकायलाई जिम्मा दिनुपर्नेमा सङ्घले जोड दिँदै आएको बताएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा वार्षिक रूपमा ७ हजार ७ सय ४० जना र नेपाल नर्सिङ सङ्घका अनुसार ५ हजारभन्दा बढी नयाँ नर्स नेपालमा उत्पादन हुने गरेको फरक फरक तथ्याङ्क छ । तर, जति पनि नर्स उत्पादन भइरहेका छन्, तीमध्ये सीमित सङ्ख्यामा मात्र रोजगारी पाउने अवस्था छ । त्यो पनि विदेश जानेहरू, अवकाश पाएका र नयाँ स्वास्थ्य संस्था आएमा रोजगारी पाउने अवस्था छ । यसले नर्सको उत्पादन बढ्दै गएको तर, रोजगारीको क्षेत्र नबढेका कारण समस्या देखिएको छ ।
परिषद्मा दर्ता भएका ७४ हजार नर्समध्ये केहीले अवकाश पाएका छन् भने केही आफूखुशी विदेशमा गएको, केहीले विविध कारणले नर्सिङ पेशा छाडेको पाइन्छ । यी सबै तथ्याङ्क हेर्दा स्वदेशमा करीब १५ हजारभन्दा बढी नर्स अहिले बेरोजगार छन् । आश्चर्यको विषय के हो भने स्वास्थ्य मन्त्रालय, परिषद् वा सङ्घ कसैसँग नेपालमा बेरोजगार रहेका एकजना नर्सको पनि तथ्याङ्क छैन । ‘बेरोजगार छु भनेर अहिलेसम्म कोही पनि नर्स बसेको थाहा छैन,’ सङ्घकी कार्यवाहक अध्यक्ष गङ्गा थापाले भनिन्, ‘रोजगारी नपाएकाहरूका लागि सङ्घमा सम्पर्क राख्न अनुरोध गरे पनि अहिलेसम्म कसैले उजुरी गरेका छैनन् र हामीसँग कति नर्स बेरोजगार छन् भन्ने तथ्याङ्क पनि छैन ।’
रोजगारी सम्भावनाका क्षेत्र ‘निजीक्षेत्रबाट खुलेका स्वास्थ्य संस्थामा सरकारीभन्दा बढी नर्सहरूले रोजगारी पाइरहेकाले नर्सिङ क्षेत्रमा उत्पादित नर्सलाई रोजगारी दिनुमा निजीक्षेत्रको योगदान महत्त्वपूर्ण छ,’ सङ्घकी कावा अध्यक्ष थापाले भनिन्, ‘तर, सरकारी सरह तलब तथा सेवासुविधा नदिँदा नर्सहरूले रोजगारी पाएर पनि पीडित भएको महसूस गर्नुपरेको छ ।’ यसका लागि सरकारले सबै निजी संस्थाहरूलाई सरकारी सोसरह तलब दिने व्यवस्था गराउनुपर्ने र रोजगारीका सम्भावित क्षेत्रहरूमा लगानी बढाउनुपर्ने उनको माग छ । नर्सहरूको पछिल्लो आन्दोलनका क्रममा पनि उठाइएको उक्त मागमा निजी अस्पतालहरूसँग छलफल भइरहेको थापाले बताइन् । डा. भोला रिजाल पनि निजी स्वास्थ्य संस्थामा नर्सहरूलाई दिइने तलब थोरै रहेको स्वीकार्छन् । तर, यसका पछाडि विभिन्न कारण रहेको उनको भनाइ छ । ‘देशमा ‘सप्लाई एण्ड डिमाण्ड’को अनुपातमा मिल्न नसकेकाले नै उत्पादन भएका नर्सहरू बेरोजगार बस्नुपरेको छ, सरकारी र निजीक्षेत्रबाट रोजगारी दिने क्षेत्रको विकास गर्ने हो भने नर्सहरूलाई स्वदेशमै रोजगारी र राम्रो तलब सुविधा स्वदेशमै दिन सकिन्छ ।’ सरकारले चालू आवको बजेट भाषणमै ‘एक विद्यालय एक नर्स’ राख्ने घोषणा गरेको थियो । उक्त कार्यक्रम लागू भएमा देशमा रहेका ३४ हजार विद्यालयमा एक/एक जनाको दरले ३४ हजार नर्सले नयाँ रोजगारी पाउनेछन् । सीमित निजी विद्यालयले नर्सहरूलाई रोजगारी दिए पनि देशभर रहेका ८ हजार निजी विद्यालयमा नर्सलाई रोजगारी दिने ठाउँ छ । यस्तै, ५० जनाभन्दा बढी कामदार रहेको उद्योगमा एकजना नर्सलाई रोजगारी दिने व्यवस्था कार्यान्वयन भएमा थप केही हजार नर्सले राजगारीको अवसर पाउनेछन् । नर्स र बिरामीको अनुपातलाई मिलाउँदा मात्र पनि हजारौं नर्सले रोजगारी पाउने सम्भावना छ । स्वास्थ्य मन्त्रालयले गरेको एक अध्ययनले नेपालमा सन् २०३० सम्ममा ८२ हजार नर्सको आवश्यकता पर्ने देखिन्छ । त्यसैले, सरकारले निजीक्षेत्रसँगको समन्वयमा रोजगारी बढाउने काममा सहकार्य गरेमा स्वदेशमै नर्सहरूलाई रोजगारी दिन सकिने ठाउँ छन् । नर्सिङ क्षेत्रका समस्या नर्सिङ सेवासम्बन्धी नीति, योजना र कार्यक्रमलाई मूलप्रवाहीकरण र व्यवस्थित गर्न भन्दै २०६६ सालमा नर्सहरूले गरेको आन्दोलनदेखि २ साताअघि भएको आन्दोलनमा नर्सिङ महाशाखा गठन गर्न माग गरिएको छ । यसअघि २०३५ सालमा नै गठन गरिएको उक्त महाशाखा स्वास्थ्य मन्त्रालयको पुनःसरचना गर्ने क्रममा २०५० सालमा खारेज भएको थियो । अहिले पनि नर्सहरूका यावत् समस्याको समाधानका लागि स्वास्थ्य मन्त्रालयअन्तर्गत केन्द्र र प्रदेशमा छुट्टै नर्सिङ महाशाखा स्थापनाका लागि जोड दिइएको छ । तर, सामान्य प्रशासन मन्त्रालयमा यसको फाइल अड्किएको धेरै भइसक्यो । नर्सिङ पेशामा आउन चाहनेहरूको आकर्षण जति बढिरहेको छ, यसभित्रका समस्या पनि उत्तिकै बढिरहेका छन् । ‘उत्पादन भइरहेका नर्सहरूको व्यवस्थापन नै अहिलेको मुख्य समस्याका रूपमा देखिएको छ,’ स्वास्थ्य मन्त्रालयको नर्सिङ शाखाकी अधिकृत अमृता पहाडीले भनिन् । सरकारी स्वास्थ्य संस्थामा दरबन्दी नहुनु र भएका दरबन्दीहरूमा पनि दुर्गम स्थान, सेवा सुविधाको कमी, सुरक्षा र बन्दोबस्तको राम्रो प्रबन्ध नहुँदा नर्सहरू जान मानेका छैनन् । लाखौं लगानीमा अध्ययन गरेका नर्सहरूलाई निजी स्वास्थ्य संस्थामा सित्तैमा वा थोरै तलबमा काम गर्नुपर्दा आर्थिक तथा मनोवैज्ञानिक समस्या देखिएको गुनासो सबैको छ । पेशागत समस्याको रूपमा लामो समयसम्म वृद्धि विकास नहुनु, २५/३० वर्षसम्म काम गर्दा पनि एउटै पदमा बस्नुपर्ने बाध्यताले नर्सहरू पीडित भएका छन् । बिरामी र नर्सको अनुपात मिलाउन नसक्दा सरकारी र निजी अस्पतालमा कार्यरत नर्सहरूलाई काम गर्न गाह्रो भएको बताउने गरेका छन् । लामो समय काम गर्नुपर्ने, कहिलेकाहीँ २४ घण्टा ड्युटी गर्नुपर्ने, एक जना नर्सले २५ देखि ५० जनासम्म बिरामीको हेरचाह गर्नुपर्दा नर्सहरू बेला बेलामा बिरामी र कुरुवासँग झर्कने र रिसाउने गरेको पाइन्छ । नर्स र मिड्वाइफ खटाएको ठाउँमा अनिवार्य उपस्थिति हुने वातावरण सृजना गर्न, दुर्गम क्षेत्रमा निरन्तर काम गर्ने नर्सहरू र यो सेवामा रहेका परिवारलाई विशेष सुविधा र अवसरको व्यवस्था गरिएमा नेपालमै नर्सहरू स्थापित हुने नर्सिङ क्षेत्रमा काम गरिरहेका सरोकारवालाहरूको माग छ ।