काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले राष्ट्रियसभामा छलफलको रूपमा रहेको नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक चाँडो पास हुने बताएका छन् ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २८ औं वार्षिकोत्सवका अवसरमा आज केन्द्रको कार्यालय ताहचलमा आयोजित कार्यक्रममा उनले नवीकरणीय ऊर्जाको विकासका लागि उक्त विधेयकलाई चाँडो पास गरिने बताएका हुन् ।
‘नवीकरणीय ऊर्जालाई समयसापेक्ष रूपमा विकास गर्नका लागि आवश्यक विधेयक, ऐन, नियमलाई चाँडो पास गर्छाैं,’ मन्त्री खड्काले भने । उनले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताको विकासका लागि लाग्न सम्पूर्ण कर्मचारीलाई निर्देशन समेत दिए ।
ऊर्जामन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले यसलाई पूरा गर्नका लागि केन्द्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे । ‘हामीसँग भएको स्रोत र साधनको भरपुर प्रयोग गरी सरकारले राखेको लक्ष्य पूरा गर्न लाग्नुपर्छ,’ उनले भने ।
मन्त्री खड्काले द्वन्द्वकालको समयमा स्थानीय तहमा विद्युत् अवरोध हुँदा केन्द्रले गाउँगाउँमा गएर पुर्याएको सहयोगको सराहना गरे । उनले विदेशीले ऋण, सहयोग र अनुदान नेपाली जनतालाई सम्झेर दिएको भन्दै उक्त रकमलाई सही ठाउँमा सदुपयोग गर्नसमेत आग्रह गरे ।
ऊर्जामन्त्री खड्काले सरकारले निश्चित उद्देश्य राखेर नेपाल विद्युत प्राधिकरण, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, विद्युत विकास विभागजस्ता संस्था स्थापना गरेकाले इमान्दार भएर लक्ष्य प्राप्तिमा लाग्न आग्रह गरे । उनले विद्युत् नपुगेका घरमा विद्युत् पुर्याउन वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले खेलेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङले नवीकरणीय ऊर्जाको पहुँचमार्फत विद्युतको पहुँच पुर्याउन र देश खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि प्रवर्द्धनका लागि केन्द्रले गरेका कार्यहरू सराहनीय रहेको बताए । राज्यमन्त्री तामाङले देशव्यापी नवीकरणीय ऊर्जाको पहुँच विस्तार गर्नका लागि केन्द्र अझै सशक्त ढङ्गले अगाडि बढ्नुपर्ने बताए ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले राष्ट्रिय प्रसारणको लाइन नपुगेका क्षेत्रमा सौर्य ऊर्जामार्फत विद्युत प्रवाहमा केन्द्रले खेलेको भूमिका सकारात्मक रहेको बताए । उनले केन्द्रले विद्युतमार्फत ग्रामीण व्यवसायको विकासमा पुर्याएको योगदानको प्रशंसा गरे ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रले स्थापनाकालदेखि हालसम्म आइपुग्दा ४० हजार २५३ किलोवाट लघु तथा साना जलविद्युत् आयोजना निर्माण गरिसकेको बताए ।
यस्तै, ११ हजार १०४ सुधारिएको पानीघट्ट जडान, नौ लाख ९६ हजार ६४७ घरेलु सौर्य विद्युत प्रणाली जडान, चार हजार ३३२ संस्थागत सौर्य विद्युत प्रणाली जडान, तीन हजार ९७ किलोवाट पिक सौर्य मिनिग्रीड जडान गरिसकेको उनले जानकारी दिए ।
केन्द्रले हालसम्म देशको करीब ३६ लाख ५० हजार घरधुरीमा स्वच्छ नवीकरणीय ऊर्जा प्रविधिको सेवा पुर्याएको कार्यकारी निर्देशक ढकालको भनाइ छ ।
केन्द्रका नायब कार्यकारी निर्देशक डा. नारायणप्रसाद अधिकारीले विद्युत् पहुँच विस्तार र खाना पकाउने स्वच्छ ऊर्जा प्रविधिको क्षेत्रमा केन्द्रले विशेष जोड दिँदै आएको बताए ।
हाल देशभर नवीकरणीय ऊर्जाको क्षेत्रमा ५०० भन्दा बढी कम्पनी क्रियाशील छन् भने उक्त कम्पनीमार्फत ४० हजारभन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्षरूपमा रोजगारी पाइरहेका छन् ।
सोही अवसरमा मन्त्री खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा विकासका क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेका थिए । केन्द्रको वार्षिकोत्सवका अवसरमा आज बिहान रक्तदानसमेत आयोजना गरिएको थियो ।