- वैशाखमा मनाइने नेपाली नयाँ वर्षभन्दा जनवरीमा अंग्रेजी न्यू इयर मनाउनेहरूको संख्या बढ्दै गएको परिप्रेक्ष्यमा मेरो तर्फबाट पनि तपाईंहरूलाई केही शुभकामना छ है !
- हामी दशकौंदेखि महँगी, बेरोजगारी र गरीबी सहँदै थाकिसकेका छौं । यस वर्ष चाहिँ कुनै दंगा–फसाद, हड्ताल, बन्द, विष्फोट, तोडफोड, दुर्घटना वा हत्याकाण्ड नहोस् । जसले यस्तो गर्छ, उनीहरूले पहिले त पीडितहरूको बीमा गरून् । बीमा कम्पनीले सरकारी नीतिको बीमा गरून् । अझ सम्भव छ भने सरकारकै बीमा गरून् ।
- माओवादी र खाओवादीहरू फेरि सिद्धान्त र आदर्शमा फर्किऊन् ।
- भुटानी नेपालीहरूले चुनाव लड्ने अधिकारसहित आफ्नो देश फर्कन पाऊन् ।
- अमेरिकाले अरूको समस्यामा हात हाल्न छोडोस् । साना र टाढाका देशहरूले आफ्नै तरीकाले बाँच्न पाऊन् । ट्रम्पका सनक विश्वलाई धेरै झेल्न नपरोस्, व्यापार युद्ध विश्व युद्धमा नबदलियोस् ।
- पुटिन युद्धको पतन होस् ।
- सीको शान बढोस्, तर लोकतन्त्रको मान रहोस् ।
- खोरिया छाडेर नेपाली पुग्ने कोरियाले महीनामा तीन–तीन राष्ट्रपति बेहोर्नु नपरोस् ।
- चीनले अब सबै कुरा बनाइसक्यो, बेचिसक्यो । अब केही दिन विश्राम गरून् । बरु फुर्सदमा नेपाली चलचित्रहरू हेरून् । नेपाललाई अझै डम्पिङ साइट बनाउन छाडून् ।
- भारतीय उत्पादन निर्बाध नेपाल आउन पाएजस्तै केही नेपाली उत्पादन पनि यसो भारत दर्शनमा जाने मौका प्राप्त गरोस् ।
- आईएनजीओहरू नेपालबाट फर्किऊन् । उनीहरूले आफ्नो अजेण्डाहरूको प्रयोजन र प्रतिष्ठापन गर्नुसम्म गरिसके । अब स्थापित गर्न के नै बाँकी छ र ?
- बहुराष्ट्रिय कम्पनीहरूले स्थानीय उत्पादकलाई पनि केही उत्पादन र रोजगारीका अवसर छोडिदिऊन् ।
- महजोडीले एकाध विज्ञापन खेल्न अरूका लागि पनि छोडून् ।
- राजनीतिलाई कम्तीमा दुई वर्षका लागि प्रतिबन्ध लगाइयोस्, ताकि हामीले अरू महत्त्वपूर्ण कामहरू पनि गर्न सकियोस् ।
- कर्मचारीलाई राजनीतिबाट टाढा राख्ने ऐन पास होस् ।
- व्यापार व्यवसायका संगठनहरूले पनि राजनीति छाडेर व्यवसायकै सोच्न थालून् ।
- एनआरएनहरूले देशको संस्कृति, परम्परा र माटोका लागि नक्कली आँसु बगाउन बन्द गरून् र आफ्नो ज्ञान, अनुभव र शीपको केवल एक प्रतिशत नेपाललाई फिर्ता गरून् । यसबाट हाम्रो धेरै भलो हुनेछ र उनीहरूलाई पनि अलि मानसिक र आत्मिक शान्ति मिल्नेछ ।
- टीभीमा, रिलमा, टिकटकमा रिमिक्स र नम्बर गीतको नाममा नांगो नाच बन्द गरियोस् र केही अन्य मुद्दाहरूको पनि ख्याल गरियोस् ।
- लोकसेवा र निजीक्षेत्रमा धेरैभन्दा धेरै भ्याकेन्सी खुलोस्, पढाइपछि योग्यता अनुसार जागीर पनि मिलोस् ।
- पानी धारामा आओस्, आँखाबाट नबगोस् ।
- आयकरको सीमा बढोस्, आयकरको दर नबढोस् । यदि बढेछ भने भगवान्ले सहने शक्ति प्रदान गरून् ।
- नक्कली औषधिले कसैको ज्यान नजाओस् । अस्पतालहरूको शुल्क घटून् । डाक्टरहरूले बिरामीलाई मानिस सम्झिऊन् । नाम चलेका डाक्टरहरू ठिक्क खटून्, नर्शहरू पनि देशमै अटून् ।
- हरेकका खुट्टामा जुत्ता होस्, तर नेपाली ब्राण्डका । कसैलाई जुत्ताको माला लगाउनु नपरोस् । तर जुत्ता ख्वाउनुपर्नेहरूलाई शपथ चैं नख्वाइयोस् ।
- हरेक तालुवाला व्यक्तिको तालुमा बजारमा आएका नानाथरी तेल नहाले पनि कपाल आफै आओस्, तर नङ नपलाओस् ।
- लोकल बस समयमै आओस्, त्यसमा उभिनलाई ठाउँ होस् र झ्याल भएको सिट मिलोस् । तर झगडा नपरोस् र पकेट नमारियोस् । बसको भाडा धेरै कम होस्, छाडा गीत कम बजोस् ।
- जहाज सही समयमै उडून्, विमानस्थलमै ओर्लियून्, डाँडाकाँडातिर हाम नफालून् । अपहरण र दुर्घटनामा नपरून् । नेपाल एयरलाइन्सका पाइलटहरूले उडानको बीचमा हड्ताल नगरून् ।
- वृद्धभत्ता बढोस्, मूल्यवृद्धि घटोस् । तलबभत्ता बढोस्, तर पत्नीलाई थाहा नहोस् ।
- भूकम्पपीडितलाई घर मिलोस् र हरेक विवाहयोग्य कन्यालाई विनादाइजो वर मिलोस् । दाइजो र घूस दिने–लिने दुवैको मन परिवर्तन होस् ।
- हरेक हातलाई काम मिलोस् र हरेक कामको उचित दाम मिलोस् ।
- नेता महँगा होऊन्, पेट्रोल र तेल सस्तो होस् । विद्युतीय गाडीहरू अझै सस्ता होऊन् ।
- बाटो, सार्वजनिक स्थलहरूमा चुरोट पिएर धूँवा उडाउने र साँघुरा सडक गल्लीहरूमा समेत हल्लीहल्ली अव्यवस्थित बाइक कुदाउने र विनाकाम जथाभावी ट्याट्यार हर्न बजाउनेहरूलाई सीधै गोली ठोक्न पाउने कानून बनोस् ।
- पानी परोस्, समयमै परोस्, तर जहाँ आवश्यक छ, त्यहीँ मात्र परोस् । बाढी र खडेरी केवल राजनीतिक व्यापारका माध्यम नहोस् ।
- दलालहरूले दलाली छोडून् । सहकारी ठगहरू भित्र परून् । असल नियतका सहकारी चैं बलियो बनून् । बाढी, भूकम्पजस्ता प्राकृतिक प्रकोप यो वर्ष टरून् । समाजका बोझहरू समयमै जेल परून् ।
- समाज र राजनीतिका समस्याहरू सुल्झिऊन् । राजनीति संसद्मा मात्रै होस् । सन्त–महन्त आश्रममै लर्किऊन् । चोर–डाँकुहरू संसद् कब्जा गर्न छाडेर आफ्नै व्यवसायमा फर्किऊन् ।
- नेताहरू गल्लीका कुकुरहरू भन्दा सभ्य होऊन् ।
- ग्यास सिलिन्डर सजिलै उपलब्ध होस् र पूरै भरिएको होस् ।
- फोन सही काममा उपयोग होस् । रङ नम्बरबाट फोन नआओस् । सामाजिक सञ्जालको प्रयोग गर्नेहरूले सही तरीकाले चलाउन सिकून् । एसएमएस, सामाजिक सञ्जाल र च्याट जिपिटिको प्रयोगबाट जीवनका सबै कामहरू गर्न सकिन्छ भन्ने भ्रम हटोस् ।
- विदेशको अन्धो मोह भागोस्, स्वदेशमा पनि केही राम्रो लागोस् । जीवन जीउन लायक बनोस् । देश आफ्नो–झैं लागोस् । र, यो वर्षको समय चैं अलि ठीकठाक भागोस् ।
ह्याप्पी न्यू इयर !