काठमाडौं । ओरियण्टल होटल्स लिमिटेडले यस वर्ष ५ दशमलव २७ प्रतिशत नगद लाभांश दशैंअघि नै वितरण गरेको छ । कम्पनीको असोज २५ गते सम्पन्न २६औं वार्षिक साधारण सभाले करसमेत उक्त नगद लाभांश पारित गरेको थियो । असोज ११ गतेसम्म कम्पनीको शेयर कायम गरेको शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामा नगद लाभांश जम्मा गरिसकिएको जानकारी कम्पनीले दिएको हो ।
असोज ११ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भएपछि मात्र नगद लाभांश जम्मा गरिने भनाइ कम्पनीको छ । सो मितिपश्चात कर्जा चुक्ता भुक्तानी गरेका शेयरधनीहरूको हकमा भने फुकुवा पत्र पेस गरेपछि बैंक खातामा नगद लाभांश जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।
कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब १२ करोड ८० लाख ९० हजारको आधारमा नगद लाभांश वितरण गरेको हो । नगद लाभांशबापत ५ करोड ९३ लाख ७३ हजार रुपैयाँ खर्च भएको छ ।
अघिल्ला तीन आर्थिक वर्ष भने कम्पनीले लाभांश वितरण गरेको छैन । यसअघि आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १० दशमलव ७९ प्रतिशत नगद लाभांश कम्पनीले वितरण गरेको थियो ।