काठमाडौं । न्यू बिजनेश एज लिमिटेडको आयोजनामा हुन लागेको पाँचौं संस्करणको ‘न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस्–२०२५’ कार्यक्रम बुधवार (आज) हुँदैछ ।
राजधानीमा हुने उक्त कार्यक्रम केही बेरमा शुरु हुन लागेको आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार उक्त कार्यक्रम आज अपराह्न ४:३० बजे शुरु हुने कार्यतालिका छ ।
प्रभु बैंकको मुख्य प्रायोजनमा हुन लागेको कार्यक्रममा महिला उद्यमीलाई सम्मान गर्न ‘व्यवसायमा महिलाको भूमिका पुनः परिभाषित गर्ने (रिडिफाइनिङ वुमन्स् रोल इन बिजनेश)’ विषयमा रहेर विज्ञहरूबाट प्यानेल छलफलसमेत गर्ने कार्यतालिका छ ।
प्यानल छलफलमा राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठ, कटन मिल नेपालकी सह–संस्थापक प्रशन्ना बस्नेत, कोड रसका प्रबन्ध निर्देशक आस्था शर्मा भाग लिने कार्यक्रम छ । प्यानल छलफलको सहजकर्तामा कस्मिक इलेष्ट्रिकल लिमिटेडका संस्थापक तथा प्रबन्ध निर्देशक महेश महतो छन् ।
प्रभु बैंक मुख्य प्रायोजक रहेको कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडा र विशेष अतिथिका रूपमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत रहनेछन् ।
आयोजकका अनुसार यो वर्ष पनि उत्कृष्ट महिला उद्यमीसहित विभिन्न ६ विधामा करीब १५ महिला उद्यमीलाई सम्मान गरिनेछ ।
यसमा सातओटै प्रदेशबाट एक/एक जना महिला उद्यमीलाई ‘इमर्जिङ इन्टरप्राइजिङ वुमन’का रूपमा सम्मान गरिनेछ । उनीहरूलाई जनही रू. ५१ हजार नगद पुरस्कार पनि दिइनेछ । अवार्ड स्वरूप प्रदान गरिने सम्पूर्ण रकम नेपाल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले व्यक्तिगत रूपमा योगदान गर्ने भएकी छन् ।
आयोजक संस्थाका अनुसार अन्य विधामा प्रविधिमा महिला (वुमन इन टेक), व्यवसायी महिला (प्रोफेशनल वुमन), युवा महिला व्यवसायी (युथ वुमन आन्त्रप्रेनर), प्रेरणादायी महिला उद्यमी (ईन्स्पाईरिङ्ग वुमन आन्त्रप्रेनर) र उत्कृष्ट महिला उद्यमी (बेस्ट वुमन आन्त्रप्रेनर) लगायत छन् ।
महिला उद्यमको क्षेत्रमा लामो समयदेखि लागेको र योगदान गरेको एकजना महिला उद्यमीलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिने आयोजकले जनाएको छ ।
सम्मानित हुन लागेका उद्यमी छनोटका लागि एक स्वतन्त्र निर्णायक मण्डल बनाइएको थियो । उद्यममा सक्रिय रहेका देशभरका २ हजारभन्दा बढी महिलामध्येबाट विभिन्न मापदण्ड तयार गरेर विभिन्न चरणमा सर्टलिस्टिङ गरिएको थियो ।
उक्त अवार्डस् कार्यक्रममा अन्य विभिन्न कम्पनीहरूको पनि यसमा साथ रहेको छ । अन्य प्रायोजकहरूमध्ये ‘ड्रिभन बाई’ पार्टनरको रुपमा टाटाको कर्भ ईभी छ भने लाइफ इन्स्योरेन्स पार्टनरमा नेशनल लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड रहेका छन् ।
अन्य सहयोगी संस्थामा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, सिटिजन लाइफ इन्स्योरेन्स, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक, एभरेस्ट बैंक, एनएलजी इन्स्योरेन्स, नबिल बैंक, सीताराम गोकुल मिल्क, कृषि विकास बैंक, रिलायबल लाइफ इन्स्योरेन्स, सिटी एक्सप्रेस मनी ट्रान्सफर र सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) छन् ।
आयोजक संस्थाका अनुसार उद्यमशीलतामा सक्रिय भएर लागेका महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न र उनीहरूले यो क्षेत्रमा दिएको योगदानको कदर गर्ने उद्देश्यले न्यू बिजनेश एजले सन् २०२१ देखि हरेक वर्ष यो कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रमको प्रत्यक्ष प्रशारण (लाइभ) आर्थिक अभियान र न्यू बिजनेश एजको फेसबुक पेज र युटुब च्यानलबाट हुने बताइएको छ ।