आजको दिनमा जो हेर्यो, त्यै पैसाकै पछि भागिरहेको छ । समग्र विश्व नै यतिबेला पैसाकै पछाडि यसरी दौडिरहेको छ, मानौं उसलाई मृत्युले नै लखेटिरहेको छ । मानिसका लागि जसरी मृत्यु अन्तिम सत्य हो, त्यसरी नै पैसा कमाउनु पनि अन्तिम सत्य बनिसकेको छ । ‘एनी हाउ, पैसा कमाऊ’ भन्ने त सिद्धान्तै बनिसक्यो । मानिसका लागि बाबु, आमा, छोरा, छोरी, घर, परिवारभन्दा पनि पैसै ठूलो भएको छ ।
पैसाकै लागि सम्बन्ध जोड्ने र पैसा सकिएपछि तोड्ने पनि छन् । जोगीहरू भोगी र भोगीहरू जोगीका भेषमा घुमिरहेकै छन् समाजमा । पूँजीवादीभन्दा गाली, समाजवादी भन्दा ताली बजाउनेहरू देशैभरि हाबी छन् । सही तरीकाले धन कमाउनु गलत, तर नीति नियम बिगारेर, बंग्याएर, छलाएर कमाउनु चैं सही । मरेपछि लानु केही छैन भन्ने पण्डितहरू नै भनेजति दान दक्षिणा नपाउँदा तँ तँ र म ममा उत्रिन बेर लाउन्नन् ।
पैसाले मानिसलाई भ्रष्ट बनाउँछ, त्यसैले पैसै नचाहिने समानताको शासन ल्याउँछौं भन्दै हिँड्नेहरू पनि अहिले सुनखेतीतिर पो लागेका देखिन्छन् । समाजवादको जरो खोज्नुस् कि पूँजीवादको लहरो समाउनुस्, भित्री कुरो चाहिँ दाममै गएर अड्किन्छ । नामकै लागि काम गरेको भन्नेहरू पनि दामबाहेक अरू देख्दैनन् । त्यही भएर होला ‘धन भनेपछि महादेवका पनि तेस्रो आँखा खुल्छ’ भनेको ।
रातमा पैसा । दिनमा पैसा । मायामा पैसा । धोखामा पैसा । ममता किन्न सक्ने पैसा । भावना छिन्न सक्ने पनि पैसा । नराम्रोलाई राम्रो देखाउने पैसा । अनर्थलाई अर्थ दिने पैसा । यत्रतत्र सर्वत्र छ पैसा । तर पनि प्राप्त गर्न कठिन छ पैसा । पैसा सबैलाई प्यारो छ । तर सबैैले यसलाई आफ्नै बनाउन गारो छ । शायद त्यसैले त पैसालाई भगवान् मानेको ।
पैसाले मानिसलाई भ्रष्ट बनाउँछ, त्यसैले पैसै नचाहिने समानताको शासन ल्याउँछौं भन्दै हिँड्नेहरू पनि अहिले सुनखेतीतिर पो लागेका देखिन्छन् । समाजवादको जरो खोज्नुस् कि पूँजीवादको लहरो समाउनुस्, भित्री कुरो चाहिँ दाममै गएर अड्किन्छ ।
के भयोे भने कमाइन्छ त पैसा ? इमानदार भएर कि बेइमान बनेर ? लगनशील, कर्तव्यनिष्ठ, मेहनती भएर कि समयलाई चिनेर ? इमानदार र परिश्रमीले पैसा कमाउने भए त सबैभन्दा धनी किसानहरू हुनुपर्ने हैन र भन्या ? त्यसो भए लगानीका क्षेत्र पहिचान गर्न सक्ने भएर वा शिक्षित भएर पैसा कमाउन सकिन्छ कि लक्ष्मीको पूजा गरेर ? कि भाग्यले साथ दिए मात्र हात पर्छ पैसा ? अर्काको देखेर हुन्छ कि भाग्यमा लेखेर आउनुपर्छ ? तर भाग्यमा छ भने डोकामा दूध आफै अडिन्छ ? अर्थात् कर्म गर्न पर्दैन ?
एउटा कागजको टुक्रालाई सिंगारपटार गरेर यसको न्वारन गरिन्छ पैसा । त्यही पैसाका पछि त आज पूरै संसार दौडिरहेको छ । कसलाई कति पैसा भएपछि पुग्ने हो कुनै टुंगो छैन । भन्न त मानिसलाई सामाजिक र सांस्कृतिक जीव हो भनिन्छ क्यारे । तर यसो विचार र व्यवहार हेर्दा मानिस चैं पैसाजीव हो भन्दा फरक नपर्ला ।
पैसाका अनेक नाम, रूप छन्, कतै डलर, कतै पाउन्ड, कतै यान त कतै रुपियाँ । अंक उही भए पनि महत्त्व फरक । त्यसैले सामाजिक वर्गीकरणको कारण बनेको छ पैसा । मानिसको सामथ्र्य जोडिएको छ पैसासँग । हरेक प्रतिस्पर्धाको पछाडि पैसा नै मुख्य कारक बनेको छ । मानिस कति पैसा कमाउँदा सन्तुष्ट हुन्छ ? जति कमाए पनि कमाइरहने इच्छा किन हुन्छ पैसा ?
हरेक खुशी पैसासँग जोडिएको छ । हरेक दु:खको कारण पैसा बनेको छ । मानिस जति धनी भयो, उति लोभी बन्दै छ । ऊ लिनमात्र तम्सिएको छ, कसैलाई दिन जानेकै छैन । कोही खाना धेरै खाएर बिरामी परिराछन् । कोही खान नपाएर मरिराछन् ।
सबैले पैसा कमाउन जान्दैनन् । जान्नेले अरूलाई सिकाउँदैन पनि । पैसाले नै कति सम्बन्ध जुटाउँछ, कत्ति फुटाउँछ । पैसा माग्ने बेलामा मानिसले अनुनय विनय गर्छ । तर फिर्ता गर्ने बेलामा आफ्नै पैसा लिन पनि भीख मागेझैं गर्नुपर्छ । आखिर माग्ने को, दिने कि लिने ?
पैसा हुनेसँग र पैसा नहुनेसँग मानिसहरूले देखाउने व्यवहार पनि फरक–फरक हुन्छन् । धन जुटाउन नसके पत्नीले समेत हेप्छिन् । त्यसैले त ‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी’ भन्छन् नि । हिजोआज त पैसाले ईश्वर किन्न र मुद्दा छिन्न समेत सकिन्छ भन्छन् । मानिस विद्वान् हुन जीवनभरि शास्त्र पढ्नुपर्छ । तर पैसा भएपछि मानिस आपसे आप विद्वान्मा गनिन्छ ।
पैसा फोहोर भए पनि, च्यातिए पनि, मैलिए पनि चल्छ । किनकि, संसारमा हुने हरेक राम्रा नराम्रा कामहरूको पछाडि पैसा नै मुख्य कारण देखिन्छ । धन–सम्पत्ति, पैसाकै लागि प्रेमको नाटक गर्नेदेखि लिएर परिवारकै मानिसको हत्या गर्नेसम्मका कुकृत्य गर्नसमेत मानिस पछि पर्दैन । कतिपय मानिसहरू पैसा भएर पनि खर्च गर्दैनन्, बरु दरिद्र जीवन बिताउँछन् । कोही चैं आफूसँग पैसा नभए पनि ऋण लिएरै भए पनि खर्च गर्न डराउँदैनन् । पैसा कमाउन न सजिलो छ न जोगाउन । तर सडकमा माग्नेदेखि लिएर सदनमा पुग्ने जो कोहीलाई पैसा कसरी कमाउने भन्ने धुन छ । व्यवसायी त पैसा कमाउन नै व्यवसायी भएका हुन् । जागीरको उद्देश्य पनि पैैसा कमाउनु नै हो । तर योे देशमा त राजनीति गर्नुको उद्देश्य पनि पैसा कमाउनु नै रहेको देखिन्छ । नत्र राजनीति गर्नेहरू जसको कुनै व्यवसाय छैन, जसको कुनै जागीर छैन, सबैभन्दा धेरै पैसा उनैसँग छ । छैन त अचम्म ?
पैसा पनि दुई किसिमका हुन्छन् रे । एउटा सेतो, अर्काे कालो । जुन पैसा कमाउनका लागि मानिस आफ्नो विवेकमा कालोपट्टी बाँध्छ, त्यो चैं कालोे । जुन पैसा इमानदारी, मेहनत गरेर कमाएको हो, त्यो सेतो हो । अनि हिजोआज त खैरा पैसा पनि थपिएको छ क्यारे !
अनि मानिसलाई कति पैसा भयो भने पुग्ने हो ? करोडपति पनि कुदेकै छ, रोडपति पनि कुदेकै छ । किनकि जतिसुकै धनी मान्छे भए पनि पैसाले पुगेको देखिन्न । गरीबको त के कुरा ? हरेक दिन मागेर गुजारा चलाउने भिखारीदेखि धनका शिकारी बिल गेट्सदेखि विनोद चौधरीसम्मलाई पैसाकै पिरलोले पोलेकै छ । पैसाकै लागि युवाहरू विदेश भागिरहेका छन् । तर कोही कमाउँदा–कमाउँदै मरिराछन्् । कोही कमाउँछु भन्दाभन्दैै फर्किराछन् । ‘तर पैसाले सुविधा किन्न सकिन्छ, सुख किन्न सकिँदैन । पैसा अनेकथोक हो, तर सबै थोक होइन ।’ मानिसहरूले यो बुझेर पनि बुझेजस्तो देखिन्न । किन होला ?
फेरि यो पैसा कस्तो चिज होला जति कमायो उति कमाउन मन लाग्ने ? पैसा हात लाग्दा आनन्द आउने, अनि गुमाउँदा भने पीडा हुने, किन होला ? हे पैसा ! मानिसलाई रन्थन्याउने, कसैैलाई फसाउने, कत्तिलाई हँसाउने, धेरैैलाई रुवाउने र सबैलाई फन्फनी घुमाउने पैसा । अनि यस्तो पैसाका लागि कति मरिहत्ते गर्ने हो ?
त्यसैले म भन्छु, ‘पैसा मुर्दावाद !’