रूपन्देही । बुटवलका डा. सुुदर्शन थापा यतिबेला चर्चामा छन् । कोरोना संक्रमित बिरामीको उपचारमा उनी तल्लीन छन् । प्रदेश नं ५ कै ठूलो अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना फोकल पर्सन हुन् उनी । वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. थापालाई धागो कारखानामा स्थापित कोरोना आइसोलेसन अस्पतालमा रहेका बिरामी हेर्ने जिम्मेवारी छ ।
उनी भन्छन्, ‘काम उही हो तर, जिम्मेवारी थपिएको छ । अभावकाबीच कोरोना संक्रमणको शंंका लागेर अस्पताल आएका बिरामीहरूको उपचारमा खटिएको छु । तर, राम्रो पक्ष अहिलेसम्म यहाँ कुुनै पनि बिरामीमा पोजेटिभ रिपोर्ट देखिएको छैन । अत्यावश्यक उपकरणविना नै जोखिमपूर्ण रूपमा काम गरेका छौं ।’
उनलाई अहिले दैनिक १०० भन्दा बढी फोन आउँछन् । फोन गर्नेमा मुख्यमन्त्रीदेखि स्थानीय तहका जनप्रतिनिधिसम्म छन् । के भइरहेको छ, कस्तो छ तयारीदेखि कोरोना संक्रमितको आशंका गरिएको बिरामीको रिपोर्ट के आयो, नयाँ बिरामी आएका छन् कि छैनन्, यस्ता लक्षण छन्, त्यहाँ पठाऊँ कि ? भनेर उनलाई सोधिन्छ ।
उनी लुुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको चेकजाँच गर्छन् । त्यसपछि बुुटवल–१० रामनगरमा रहेको कोरोना विशेष अस्पतालमा पुुग्छन् । त्यहाँ आइसोलेसनका बिरामीको चेकजाँचमा खटिन्छन् । देशभरका कोरोनाको क्षेत्रमा काम गर्ने चिकित्सकहरू अत्यावश्यक तयारी सामग्रीविनै काम गर्न बाध्य भएको गुुनासो उनले गरे । उनले भने, ‘स्वास्थ्यकर्मी तथा बिरामीले प्रयोग गर्नुुपर्ने पर्सनल प्रोटिक्टभ इक्वीपमेन्ट (पीपीई) को चरम अभाव छ । पीपीईविना नै उपचारमा खटिनुपर्ने अवस्था छ ।’
पीपीई नपाएपछि प्लास्टिकको ‘रेनकोट’ लगाएर काम गरिरहेका उनको भनाइ छ । बुुटवलमा मात्रै दैनिक ६ ओटासम्म पीपीई आवश्यक छ । तर, एउटा पनि पीपीई नहुुँदा चिकित्सकले त्यसको सट्टा रेनकोट प्रयोग गरेर काम गरिरहेका छन् ।
गएको फागुुन २९ गते बुुटवलका एक युुवालाई कोरोना भाइरसका बिरामीसँग मिल्दाजुुल्दा लक्षण देखिएपछि बुुटवलस्थित लुुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरियो । अस्पतालमा भागाभागको जस्तै स्थिति बन्यो । तर, उपचारमा खटिने अन्य स्वास्थ्यकर्मीको आत्मबल बढाउँदै उनी उपचारमा खटिए । डा. थापासँग २० जनाको टिम छ ।