काठमाडौं । पियोर इनर्जी लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको आईपीओ आगामी बिहीवार (वैशाख ११ गते) बाँडफाँट हुने भएको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले वैशाख ११ गते आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो । कम्पनीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि ११ लाख ९५ हजार २०० कित्ता आईपीओ जारी गरेको थियो ।
यसअघि कम्पनीले पहिलो चरणको आईपीओ फागुन २० गतेदेखि चैत ५ गतेसम्म निष्कासन गरी चैत १५ गते बाँडफाँट गरिसकेको छ । कम्पनीले आफ्नो जारी पूँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र बाँके जिल्लाका अयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि र १८ प्रतिशत अर्थात् १४ लाख ४० हजार कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात् १ लाख ४४ हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि बाँडफाँट गरेको हो ।
यी बाहेक पनि कम्पनीले कर्मचारीहरूका लागि २८ हजार ८०० कित्ता र सामूहिक लगानीकोषका लागि ७२ हजार कित्ता आईपीओ समेत बाँडफाँट गरिसकेको छ ।सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ८० करोड रुपैयाँ कायम हुनेछ ।
यो कम्पनी सौर्य उर्जा उत्पादक कम्पनी हो । यस कम्पनीले दुई सौर्य विद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ । १० मेगावाट क्षमताको सौर्य पि.भि विद्युत आयोजना ब्लक–१ बाट २०८० पुस ११ गतेदेखि र १० मेगावाट सौर्य पि.भि विद्युत आयोजना ब्लक –२ बाट २०८० साल वैशाख १८ गतेबाट व्यापारिक उत्पादन शुरू गरिएको हो ।