काठमाडौं । पियोर इनर्जी लिमिटेडको शेयरमूल्य पहिलो कारोबार दिनमा उच्च दरमा बढेको छ । कम्पनीको शेयर कारोबार मंगलवार शुरु भएको हो । नेप्सेले तोकेको अधिकतम २८९ रुपैयाँ ३० पैसामा नै कम्पनीको पहिलो कारोबार भएको थियो । स्पेशल प्रि-ओपनिङ सेसनमा भएको पहिलो कारोबार मूल्यका आधारमा नियमित सेसनमा कारोबार भई कम्पनीको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत बढेको हो । प्रतिकित्ता २८ रुपैयाँ ९० पैसाले बढेर पियोर इनर्जीको शेयरमूल्य पहिलो कारोबार दिन प्रतिकित्ता ३१८ रुपैयाँ २० पैसा कायम भएको हो ।
पहिलो दिन कम्पनीको १२० कित्ता शेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ । गत चैत २८ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्कासन गरी वैशाख ११ गते बाँडफाँट गरेको कम्पनी जेठ १२ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो । कम्पनीको दोस्रो बजारमा सर्वसाधारणतर्फको १६ लाख कित्ता र संस्थापकतर्फको ६४ लाख कित्ता शेयरसमेत कुल ८० लाख कित्ता शेयर सूचीकृत छ । पीयूआरई स्टक संकेतबाट कम्पनीको शेयर सूचीकृत भएको हो । संस्थापक र सर्वसाधारणतर्फको आयोजना प्रभावित स्थानीय, कर्मचारी र सामूहिक लगानी कोषबाहेकका शेयर कारोबारयोग्य भएका हुन् ।
कम्पनीले सर्वसाधारणमा जारी गरेको शेयरमध्ये आयोजना प्रभावित स्थानीयतर्फ १ लाख ६० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४४ हजार कित्ता र कर्मचारीका लागि २८ हजार ८०० कित्ता र सामूहिक लगानीकोषका लागि ७२ हजार कित्ता रहेको छ । सामूहिक लगानीकोषको स्वामित्वमा रहेको शेयर सर्वसाधारणमा बाँडफाँट भएको मितिले ६ महीनासम्म र संस्थापक, स्थानीयसँगै कर्मचारीको स्वामित्वमा रहेको शेयर तीन वर्षसम्म ’लक–इन’मा रहनेछ ।