रोल्पा । रोल्पाको सुनीलस्मृति गाउँपालिका–६ दलंगामा पक्की कुलोबाट सिँचाइ सुविधा पुर्याइएको छ । कच्ची कुलोका कारण वर्षेनि सिँचाइमा समस्या भोग्दै आएका दलंगा गाउँका ४६ घरधुरीले अहिले पक्की कुलोबाट सहजै सिँचाइ सुविधा पाएका छन् । पहाडी साना किसानका लागि अनुकूलन आयोजनाको सहयोगमा तीनुधारा साउराखोला सिँचाइ कुलो योजना निर्माण भएपछि दलंगा गाउँको १२० रोपनी जग्गामा सिँचाइ सुविधा पुगेको हो ।
सिँचाइ सुविधा पुगेसँगै अब कृषि जन्य वस्तुको उत्पादनमा वृद्धि हुने स्थानीय परमबहादुर थापाले बताए । ‘कच्ची कुलो हुँदा चुहिने समस्या थियो,’ थापाले भने, ‘अहिले प्रशस्त पानी पुगेको छ ।’
कुल ६ लाख २३ हजार लागतमा सिँचाइ योजना निर्माण सम्पन्न भएको हो । आयोजनाले सिँचाइ कुलो निर्माणसँगै व्यावसाियक कृषिका लागि विभिन्न सहयोग पनि गर्दै आएको छ पहाडी साना किसानका लागि अनुकूलन आयोजनाका सामाजिक परिचालक बमकुमारी सुवेदीले बताइन् । ‘हामीले व्यावसायिक कृषिमा लाग्नेहरूलाई नगद अनुदान, तालीम, प्राविधिक सहयोग र प्रविधि सहयोग गरेका छौं,’ सुवेदीले भने । सिँचाइ कुलो निर्माण भएसँगै यो गाउँमा अबदेखि बाह्रै महीना बेमौसमी तरकारीखेती गर्न सकिने भएको छ ।