काठमाडौं । नेपाल विद्युत् प्राधिकरण तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई सञ्चित नाफामा ल्याएको दाबी गर्दै आएकोमा नयाँ नेतृत्वले भने प्राधिकरण अझै नोक्सानीमा रहेको दाबी गरेको छ ।
लामो समयसम्म चलेको द्वन्द्वबीच सरकारले हालै घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई नयाँ प्रबन्ध निर्देशक नियुक्त गरेको थियो । प्राधिकरणको नयाँ नेतृत्वले यसको समग्र अवस्थाबारे तयार पारेको श्वेतपत्रमा हालसम्म प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ नोक्सानीमै रहेको उल्लेख गरिएको छ । उक्त श्वेतपत्र प्राधिकरणको अध्यक्षसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा सोमवार बिहान बसेको प्राधिकरण सञ्चालक समिति बैठकले पारित गरेको छ ।
आर्थिक अभियानलाई प्राप्त श्वेतपत्रमा उल्लेख भएअनुसार आव २०८०/८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करीब ४६ अर्ब ४७ करोड रुपैयाँ छ भने चालू आवको फागुन मसान्तसम्म प्राधिकरणले ९ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ ।
‘तर, आयकर ऐनको प्रावधानअनुसार कर प्रयोजनका लागि विगत १२ वर्षको नोक्सानी समायोजन र एक्सलेरेटेड डिप्रिसिएशनको दाबीसहितको नाफानोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड रुपैयाँ नोक्सानीमै रहेको देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ ।
घिसिङले भने कर लेखापरीक्षण नै नभएको तर त्यही कुरा श्वेतपत्रमा उल्लेख गरेर विवाद निम्त्याउन खोजेको बताए । कर लेखापरीक्षण फाइनल नभएकाले यस्तो देखिएको उनको तर्क छ ।
‘महालेखाले गरेको अडिट नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्डस् (एनएफआरएस) अनुसार गरेको हो । त्यसमा ह्रास कट्टी कति हुने भन्ने कुरा निश्चित गरिएको हुन्छ । कर प्रयोजनका लागि छुट्टै लेखापरीक्षण हुन्छ,’ घिसिङले आर्थिक अभियानसँग भने । ‘३३ प्रतिशत सम्म ह्रासकट्टी बटमलाइन छ । कम नाफा देखाएर पनि ट्याक्समा जान पाइन्छ । ट्याक्स अडिट र नाफा अडिट छुट्टै हुन्छ । प्राधिकरणको वास्तविक नाफा भनेको ४६ अर्ब रुपैयाँ नै हो ।’
कर लेखापरीक्षण अझै टुंगोमा नपुगको भन्दै उनले आव २०७५/७६ सम्मको मात्रै टुंगोमा पुगेको बताए । आव २०८०/८१ सम्मको कर लेखापरीक्षण हुन बाँकी रहेको उनको दाबी छ । ‘अग्रिम कर भनेर हामीले ११ अर्ब पहिल्यै जम्मा गरेर राखेका छौं । कर कायम भएपछि त्यो पैसा कट्छ । हाम्रो वास्तविक नाफा भनेको हाम्रो ब्यालेन्स सिटमा जे आयो त्यही हो । महालेखाले पनि यही देखाएको छ,’ उनले दाबी गरे ।
श्वेतपत्रमा उल्लेख भएअनुसार २०८१ फागुनसम्म डेडिकेटेड फिडर तथा ट्रंक लाइनतर्फको २३ अर्ब ४४ करोडसहित प्राधिकरणको जम्मा बक्यौता ४४ अर्ब ५४ करोड रुपैयाँ छ । नेपाल सरकारबाट कोभिड छूट, चिस्यान केन्द्रलगायत शीर्षकमा दिइएको छूटबापतको १४ अर्ब १० करोड रुपैयाँ बराबरको रकम शोधभर्ना प्राप्त गर्न बाँकी छ । यसरी डेडिकेटेड फिडर तथा ट्रंक लाइनतर्फको र अन्यसहित बक्यौता जम्मा ३२ अर्ब ५ करोड रुपैयाँ रहेको छ भने बाँकी १२ अर्ब ४९ करोड रुपैयाँ नियमिततर्फको बक्यौता छ । यी बक्यौता रकमहरू आयमा समावेश गरिएको प्रतिवेदनमा उल्लेख छ ।
घिसिङले भने उठ्न बाँकी रकम प्राधिकरणको खातामा आउने भएकाले त्यो आउँछ भनेर राखेको दाबी गरे । ‘बाँँकी बक्यौता उठाउन खोज्दा सरकार नै लागेर उठाउन नदिने अनि किन नाफा देखाएको भन्न पाइन्छ ? नेपाल सरकारले नै प्राधिकरणको आयस्रोतमा यति उठ्छ, विदेशबाट अनुदान यति आउँछ भनेर बजेट बनाउँछ,’ उनले भने ।
त्यसैगरी प्रतिवेदनमा बक्यौता उठ्ने सुनिश्चित नभई घाटा बजेट बनाएकाले प्राधिकरणले अल्पकालीन कर्जा लिनुपर्ने बाध्यता आइपरेको श्वेतपत्रमा उल्लेख छ ।
आव २०८१/८२ को लागि प्राधिकरणको प्रक्षेपित आयको स्रोत १ खर्ब ९९ अर्ब २ करोड रुपैयाँ छ तर स्वीकृत बजेट २ खर्ब २८ अर्ब ७७ करोडको रुपैयाँ छ ।
यसमध्ये नेपाल सरकारबाट विगतमा शोधभर्ना पाउनुपर्ने रकम १४ अर्ब १० करोड रुपैयाँ रातो किताबमा समावेश नभएकै अवस्थामा समेत प्राधिकरणको बजेटमा समावेश गरिएको छ । त्यस्तै डेडिकेटेड फिडर र ट्रंक लाइनतर्फको बक्यौतासमेत अनुमानित आयमा समावेश गरी बजेट कायम भएको छ । यसरी २९ अर्ब ७५ करोड रुपैयाँ बजेट स्रोतको व्यवस्था नभएको देखिन्छ । स्वीकृत बजेटमा प्रस्तावित नगद प्रवाहको अनिश्चितता हुँदाहुँदै स्रोतभन्दा बढी निर्माण कार्य अघि बढेबाट प्राधिकरणलाई नगद संकट उत्पन्न भएको श्वेतपत्रमा उल्लेख छ । ‘त्यसको परिपूर्तिका लागि १० अर्ब रुपैयाँसम्म अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढेको छ,’ प्राधिकरणले भनेको छ ।
साथै प्रक्षेपित आयमा विद्युत् विक्रीको अनुमान पनि बढी भएको र गत असोजको बाढीबाट विभिन्न उत्पादन केन्द्रमा भएको क्षतिका कारण निर्यात घटेको र आन्तरिक विक्रीसमेत कम हुन गएबाट वास्तविक विक्री करीब १८ अर्ब रुपैयाँ न्यून हुन जाने प्राधिकरणले बताएको छ ।
तर, घिसिङले बक्यौता उठाउन नदिने अनि स्रोत सुनिश्चित भएन भन्न नपाइने तर्क गरे । उनले भने, ‘यसको मतलब डेडिकेटेड फिडर र ट्रंक लाइनबापतको बक्यौता सरकारले नउठाउने देखियो । उक्त बक्यौता नउठाउनकै लागि मलाई हटाइएको हो ।’