बागलुङ । सानो मतपत्र, चुनाव चिह्न थोरै । एउटा मतपत्रमा एक संकेत मात्र गरे पुग्ने । स्थानीय तहको सक्रियतामा घरघरमा स्वयंसेविका खटाएर दिइएको मतदाता शिक्षा । उम्मेदवार तथा दलहरूले आ–आफ्नो चिह्नमा मत राख्न सञ्चालन गरेको मतदाता शिक्षा । मतदानको दुई दिन पहिलेसम्मका यी सबै क्रियाकलाप हेर्दा लाग्थ्यो– यसपटक बदर मत निकै कम हुन्छ ।
स्थानीय निर्वाचनमा बदर मत धेरै देखिएपछि यसपटक मतदाता शिक्षा पनि दिइएको हो । महिला स्वास्थ्य स्वयंसेविका खटाएर पनि यस्तो शिक्षा दिइयो । राजनीतिक दलका नेता, कार्यकर्ताले पनि घरदैलो अभियानमा मत हाल्न सिकाएका थिए । तर, शिक्षा र चेतनाको कमी वा दलहरूप्रतिको वितृष्णा, बागलुङमा धेरै प्रकारका बदर मत भेटिएका छन् ।
मतगणना जारी रहेको बागलुङ क्षेत्र नं १ प्रतिनिधिसभामा ६ ओटा चुनाव चिह्न छन् । मत संकेत गर्न निकै सहज मतपत्र हुँदाहुँदै पनि मतदाताले एउटा मतपत्रमा एउटा मात्र चिह्नमा स्वस्तिक छाप लगाउनुपर्नेमा ६ ओटैमा लगाएका छन् । यस्तो बदर मतको संख्या उल्लेख्य छ । चिह्नमा छाप नलगाएका मतपत्र पनि धेरै छन् । नेपालको संविधानले नो–भोटको व्यवस्था गरेको छैन । त्यसैले मतपत्रमा नो भोटको विकल्प पनि राखिएको छैन । तर, मानिसले नो भोटकै स्वरूप मत बदर गराइरहेको बुझिएको छ ।
केही बदर भएका मतपत्र यस्ता छन्, जहाँ नो भोट लेखेर छाप नलगाई छाडिएको छ । बागलुङ क्षेत्र नं १ मा १४ हजार मतगणना हुँदा साढे चार सय मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । तीमध्ये अधिकांश मत जानीबुझी बदर बनाइएको देखिने गणनामा बसिरहेका अधिकारीहरू बताउँछन् ।
‘कैयौं मत खाली छन्, नजानेर खाली खसालिएको भन्न सकिने आधार कम छ,’ मतगणनामा सहभागी एक कर्मचारीले भने, ‘कतिपय मतपत्रमा नो भोट लेखिएको छ भने कुनै मतपत्रमा सबै चिह्नमा छाप लगाइएको छ ।’ दल तथा उम्मेदवारप्रतिको वितृष्णा मतदाताले मतपत्रमा पोखेको हुन सक्ने ती कर्मचारीले बताए ।
‘वृद्धवृद्धा र अशक्तहरूका मत वारेसमार्फत खसेका हुन्, एकाघरको व्यक्तिलाई वारेस बस्न दिइएकाले बदर कम हुनुपर्ने हो,’ नेकपा एमालेका बागलुङ जिल्ला कमिटी सचिवालय सदस्य खगेन्द्र पौडेलले भने, ‘सबै चिह्नमा छाप लगाउने, खाली मत खसाल्ने गतिविधि नजानेर भन्दा जानेरै गरेको हुनुपर्छ ।’
दलहरूले बदर मत, विगतका निर्वाचनमा भन्दा फरक नतीजा आउनेगरी खसेको मत र मत जाहेर गर्दा मतदातामा देखिएको वितृष्णा किन उत्पन्न भइरहेको छ भन्ने विषयमा सोच्नुपर्ने बेला आएको बागलुङ नगरपालिका–२ का युवा मनीष रायमाझीले बताए ।
‘मैले पनि मत दिएँ, तर मन लागेर दिएको होइन । आफ्नो अधिकार प्रयोग गरौं भनेर गएँ, तर सबैमा छाप लगाइदिएँ,’ बागलुङ नगरपालिका–२ का एक मतदाताले भने, ‘निर्वाचन हारजितको खेल मात्रै भयो, जितेकाले जनतालाई फर्केर हेरेनन्, न त उनीहरू चुनाव जितेर गएपछि जनताका दु:ख के छन् भनेर हाम्रो घरमा फर्केर आए, त्यसैले मलाई मत दिनै मन लागेन ।’
स्थानीय तहको निर्वाचनको समयमा एउटै मतपत्रमा धेरै ठाउँमा छाप लगाउनुपर्थ्यो । त्यसैले भूलवश वा नजानेर पनि मत बदर हुने सम्भावना धेरै थियो । तर अहिले त्यस्तो थिएन । सानो मतपत्र, थोरै उम्मेदवार र स्पष्ट तथा थोरै चिह्नहरू थिए । तर पनि यो निर्वाचनमा बदर मत धेरै छन् । रासस