जेठ २३, रोल्पा । प्रदेश नं. ५ को १२ जिल्लामध्ये हालसम्म रोल्पा जिल्लामा मात्रै कोरोना भाइरसको संक्रमण देखिएको छैन । जिल्लामा संक्रमण नदेखिए पनि जोखिम उच्च भएकाले सतर्कता भने अपनाइएको छ ।
भारत तथा तेस्रो मुलुकबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टाइनमा राखिएको छ भने अधिकांशको आरडिटी परीक्षण गरिएको स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख अनिल केसीले बताए । केसीका अनुसार हालसम्म जिल्लामा २० जनाको आरडिटी पोजेटिभ आएको र २०० जनाको पिसीआर परीक्षणका लागि स्वाब संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको छ । भारत तथा तेस्रो मुलुकबाट आउनेको संख्या पछिल्लो समयमा मात्र झण्डै एक हजार पुगेकाले पिसीआर रिपोर्ट नआउँदासम्म केही भन्न नसकिने अवस्था रहेको उनले बताए ।
यसैबीच रोल्पाको सुनिलस्मृति गाउँपालिकामा धेरै जनाको आरडिटी पोजेटिभ देखिएपछि गाउँपालिकाले क्वारेन्टाइनमा बसेका सबैको पिसीआर परीक्षणका लागि स्वाब नमूना संकलन गर्न थालेको छ । रोल्पाबाट संकलन भई परीक्षणका लागि दाङ पठाउदा अत्याधिक चापका कारण रिपोर्ट ढिलो आउने भएकाले सुनिल स्मृति गाउँपालिकाले नेपालगञ्ज पठाउने तयारी गरिरहेको अध्यक्ष गुणेन्द्र घर्तीले जानकारी दिए ।