काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत चार सिमेन्ट कम्पनीले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
उक्त वित्तीय विवरणअनुसार दुई कम्पनी घाटामा छन् भने दुई कम्पनी नाफामा छन् । अर्थतन्त्रमा आएको मन्दी र निर्माण क्षेत्रका आएको सुस्तताको असर सिमेन्ट बजारमा पनि देखिएको छ ।
चार सिमेन्ट कम्पनीमध्ये घोराही सिमेन्ट र सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड घाटामा रहेका हुन् । यी दुई कम्पनीमध्ये घोराही सिमेन्ट चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ६४ करोड २५ लाखभन्दा बढी घाटामा छ । त्यस्तै सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड सो अवधिमा रू. २७ करोड ८० लाखमा घाटामा छ ।
नाफामा रहेको सर्वोत्तम सिमेन्टले तेस्रो त्रैमाससम्ममा रू. १२ करोड ७ लाख नाफा कमाएको छ । त्यस्तै, शिवम सिमेन्टले रू.२० करोड ४२ लाख नाफा कमाएको छ ।
यी चार कम्पनीमध्ये सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ र बाँकी तीन कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेका थिए ।
सिमेन्ट कम्पनीमध्ये नेटवर्थका आधारमा सबैभन्दा अगाडि घोराही सिमेन्ट छ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २२० दशमलव ५५ छ । यो सूचीमा दोस्रोमा रहेको सर्वोत्तम सिमेन्टको प्रतिशेयर नेटवर्थ रू. २१२ दशमलव ७३ छ ।
यी कम्पनीमध्ये सर्वाेत्तम सिमेन्टको शेयर मूल्य सबैभन्दा बढी छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.७९० छ ।
सिमेन्ट कम्पनीको वित्तीय अवस्था
कम्पनीको नाम | खुद नाफा | सञ्चालन आम्दानी | चुक्ता पूँजी | प्रतिशेयर आम्दानी रू | प्रतिशेयर नेटवर्थ रू | शेयर मूल्य रू |
शिवम सिमेन्ट | 204,282 | 5,997,753 | 5,027,000 | 5.42 | 188.19 | 502.5 |
सर्वोत्तम सिमेन्ट | 120,769 | 4,559,099 | 4,650,000 | 3.46 | 212.73 | 790 |
घोराही सिमेन्ट | -642,559 | 3,086,255 | 4,567,685 | -14.07 | 220.55 | 484.6 |
सोनापुर मिनरल्स एण्ड आयल | -278020 | 1,177,765 | 3,075,050 | -12.05 | 170.73 | 448 |
स्रोत : कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरण र नेप्से ।