चितवन । सौराहामा एकैपटक ६० जना विदेशी पर्यटकलाई व्यवसायीले स्वागत गरेका छन् । विश्व पर्यटन दिवसका अवसरमा व्यवसायीले रुद्राक्षको माला लगाइदिएर सौराहामा स्वागत गरेका हुन् । धार्मिक हिसाबले महत्त्वपूर्ण मानिएको रूद्राक्षको माला पर्यटकलाई लगाइदिएर बढ्दो पर्यटक आगमनको कामनासमेत गरिएको व्यवसायीको भनाइ छ ।
क्षेत्रीय होटल संघ सौराहा र रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान), सौराहाको अगुवाइमा स्थलमार्ग हुँदै सौराहा आएका ६० जना पर्यटकलाई व्यवसायीले औपचारिक कार्यक्रमको आयोजना गरी स्वागत गरेका हुन् । सौराहाको छत्री स्ट्रीटमा व्यवसायीले पर्यटकलाई रूद्राक्षको माला र थारु सांस्कृतिक नाचसहित स्वागत गरेका हुन् ।
व्यवसायीले पर्यटन दिवसका अवसरमा लक्की ड्रमार्फत पर्यटकलाई निःशुल्क रात्रिभोजको कुपनसमेत उपलब्ध गराएका थिए । सो अवसरमा ६० मध्ये ३० जना पर्यटकलाई सौराहाको ‘केसीज’ रेस्टुरेन्टमा लक्की ड्रमार्फत निःशुल्क रात्रिभोजको व्यवस्था गरेको क्षेत्रीय होटल संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए । पर्यटकलाई आकर्षण गर्ने उद्देश्यसहित यो योजना शुरू गरिएको उनको भनाइ छ ।
पर्यटन दिवससँगै सौराहामा पर्यटकको आवागमन वृद्धि गर्न ‘फेरि घुमौं सौराहा’ अभियान नयाँ ढंगबाट अगाडि बढाउने तयारी गरेको समेत उनले बताए । चितवन पर्यटन कार्यालयका प्रमुख प्रेमप्रसाद ढकालले सौराहा देशकै गौरव भएकाले यसको विकास र प्रवर्द्धनमा प्रदेश सरकार साथमा रहने प्रतिबद्धता व्यक्त गरे । उनले क्षेत्रीय होटल संघ र रेबान सौराहासहित यहाँ पर्यटन व्यवसायीसँग मिलेर अगाडि बढ्ने गरी योजना बनाइने बताए ।
कार्यक्रममा रेबान सौराहाका अध्यक्ष ध्रुव गिरीले ३६५ दिन नै पर्यटकलाई स्वागत सत्कार गर्ने वातावरण बनाउन विदेशीसँगै स्वदेशी पर्यटकलाई समेत सौराहामा स्वागत गर्दै यसको प्रवद्र्धनमा लाग्न आग्रह गरे । बर्खाका कारण करीब दुई महीना पर्यटकको संख्यामा कमी हुने सौराहामा पर्यटन दिवसको दिनबाट चहलपहल बढ्ने भएकाले व्यवसायीले दिवसलाई महत्त्वका साथ मनाउने गरेको गिरीले बताए ।
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वन घुम्न आउने पर्यटक बस्ने मुख्य ठाउँ सौराहा हो । सौराहा सफारी पर्यटनको हिसाबले विश्वमै प्रसिद्ध पर्यटकीय गन्तव्य मानिन्छ । निकुञ्जले जिप सफारीबाहेक अन्य पर्यटकीय गतिविधि खुला गरेको छ । सौराहामा १४० होटल र १०० को हाराहारी रेस्टुराँ छन् । सौराहाका होटलमा ६ हजार पाँच सय जनाको क्षमता रहेको बताइएको छ ।
कार्यक्रममा होटल संघ, रेबान सौराहा, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड, साना पर्यटन व्यवसायी संघ सौराहा, लियो क्लब अफ सौराहा, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले सहकार्य गरेका हुन् । दिवसको अवसरमा शुक्रवार साँझ सौराहाको मुख्य बजार क्षेत्रमा सांस्कृतिक झाँकी निकालिएको थियो ।