काठमाडौं । पुस महीनामा सर्वाधिक रकमको शेयर कारोबार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले ओगटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक गरेको तथ्याङ्कलाई हेर्दा पुस महीनामा यो कम्पनीको २ अर्ब ६६ करोड ३९ लाख रुपैयाँभन्दा बढीको २५ लाख ३२ हजार कित्ता शेयर कारोबार भएको हो ।
नेप्सेका अनुसार पुस महीनामा धितोपत्र दोस्रो बजारमा कुल ८९ अर्ब २४ करोड ६३ लाख रुपैयाँ बराबरको २० करोड २४ लाख ८८ हजार कित्ता धितोपत्र कारोबार भएको छ । पुस महीनामा सर्वाधिक रकमको कारोबार गर्ने १० कम्पनीको सूचीमा एनआरएन इन्फ्रास्टक्चरसँगै जानकी फाइनान्स, प्रभु बैंक, नेपाल फाइनान्स, रिभर फल्स पावर, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सुपरमादी हाइड्रोपावर, न्यादी हाइड्रोपावर र जोशी हाइड्रोपावर छन् ।
सर्वाधिक रकमको शेयर कारोबार भएको एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको शेयर मूल्य पनि पुसमा बढेको देखिन्छ । मंसिर मसान्तसम्म प्रतिकित्ता १ हजार ३० रुपैयाँ कायम भएको यस कम्पनीको शेयर मूल्य पुस मसान्तसम्म प्रतिकित्ता १ हजार १३५ रुपैयाँ कायम भएको हो । मंसिर मसान्तसम्मको तुलनामा पुस मसान्तसम्म कम्पनीको शेयर मूल्य प्रतिकित्ता १०५ रुपैयाँ बढेको हो ।