काठमाडौं । न्यू बिजनेश एज लिमिटेडले बिहीवार काठमाडौंमा आयोजना गरेको न्यूबिज बिजनेश कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस्को नवौं संस्करणअन्तर्गतको प्यानल डिस्कसन ‘ड्राइभिङ ग्रोथ थ्रु रिफर्म’मा डिजिटल पेमेन्टदेखि कृषिसम्मको चर्चा गरिएको छ ।
कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जब्बोर कायुमोभले दूरसञ्चार क्षेत्रको विकासका लागि विद्यमान व्यवस्था बदल्नुपर्ने बताए । उनले विदेशी लागानीका टेलिकम कम्पनी लक्षित नीतिमा व्यापक परिवर्तनको खाँचो औंल्याए ।
उनले भारतलगायत देशहरूमा भइरहेको लगानीको उदाहरण दिँदै नेपालले पनि लगानी भित्र्याउन ध्यान दिनुपर्नेमा जोड दिए । लाइसेन्स नवीकरण प्रक्रियालाई सरल बनाउनुपर्ने र दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्नुपर्ने उनको धारणा थियो । उनले यस विषयमा नियामक निकायले स्पष्ट गरिदिनुपर्ने बताए । सीईओ कायुमोभले नेपालमा दूरसञ्चार क्षेत्रको विकासका लागि लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘हामी विदेशी लगानीलाई स्वागत गर्छौं । यो क्षेत्रमा अत्याधुनिक प्रविधि आवश्यक छ र नेपालले यसलाई बेवास्ता गर्नु हुँदैन ।’ उनले एकीकृत लाइसेन्सको दायराभित्र सबै दूरसञ्चार र प्रविधि सम्बद्ध सेवाहरू समेटिनुपर्नेमा जोड दिए । विदेशी लगानीकर्तालाई आकर्षित गर्न नेपाल लगानीका लागि आकर्षक गन्तव्य बन्नुपर्नेमा कायुमोभले जोड दिए ।
शेयर विक्री र स्वामित्व हस्तान्तरणको प्रक्रियालाई सहज बनाउनुपर्नेमा पनि उनले जोड दिए । विदेशी मुद्राको स्वीकृतिमा हुने ढिलासुस्तीले व्यवसाय गर्न गाह्रो भएको उनले बताए ।
कायुमोभले दूरसञ्चार ऐनका कारणले मात्रै समस्या आएको नभई निर्णय क्षमता र नेतृत्व कौशलको कमीले पनि असर गरेको बताए । मन्त्रालय र नियामक निकायसँग सहकार्य गरेर सेवा सुधार गर्न तयार रहेको उनको भनाइ थियो ।
उनका अनुसार पछिल्लो ५/६ वर्षमा दूरसञ्चार क्षेत्रमा निरन्तर गिरावट आइरहेको छ । धेरै अपरेटर बन्द भएका छन् । अहिले नेपाल टेलिकम र एनसेल मात्रै छन् । नेपालमा दूरसञ्चार क्षेत्रमा संकुचन आएको छ तर भारतमा टेलिकम उद्योग फस्टाइरहेको छ । नेपालमा फाइभ जी शुरू हुन सकिरहेको छैन । यसमा विलम्ब भइरहेको छ । तर, विश्व सिक्स जीमा प्रवेश गरिसकेको छ । दूरसञ्चार क्षेत्रमा सरकारले लिएका नीति सुधारेर अघि बढ्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा ठमेल रेमिटका संस्थापक बालकृष्ण जोशीले विद्युतीय भुक्तानी संरचनाको अहिले पनि अभाव रहेको बताए । उनका अनुसार आज पनि नेपालमा डिजिटल पेमेन्टका लागि पर्याप्त पूर्वाधार छैन । त्यो ल्याउन सरकारले जोड दिनुपर्छ । ‘मैले डिजिटल पेमेन्ट/माइग्रेशन, विदेशमा बसेर आफ्नो संस्कार, संस्कृति र परिवारप्रतिको कनेक्टिभिटी एवं जिम्मेवारीलाई ई–कमर्समार्फत जोड्ने बाटो ठमेलडटकमबाट शुरू गरेँ,’ जोशीले भने । यस्तै, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बजेट निर्माणदेखि कार्यान्वयनसम्मका चरणमै व्यापक सुधारको खाँचो औंल्याए ।
उनले पटकपटक खरीद नियमावली संशोधन गरिए पनि विकासको कामले सोचेअनुरूप गति लिन नसकेको बताए । उनका अनुसार सार्वजनिक खरीद ऐन छिट्टै संसद्बाटै संशोधन हुँदै छ । तर, संसदीय प्रणालीमा सरकारले सोचेअनुसार कानून ल्याउन सहज नरहेको उनले बताए ।
समयमै काम नहुने प्रवृत्ति रोक्न जरुरी रहेको भन्दै उनले त्यसका लागि कानूनी प्रबन्ध गर्न लागिएको बताए । थापाले भने, ‘कुनै पनि योजनामा खर्च गर्न नसक्नुको कारण कर्मचारी र निर्माण व्यवसायीको गल्ती देखिन्छ । कतै बजेट पर्याप्त नहुने गरेको छ । काम नगर्नेलाई दण्ड र स्रोत कम भएका आयोजनामा पर्याप्त स्रोत दिनुपर्छ । यसपटकको बजेटमा सुधार गरिएको छ ।’
यसपटकको बजेटमा साना कार्यक्रम राखिएकोप्रति उनले असन्तुष्टि व्यक्त गरे । थापाले सरकारको स्रोतले मात्रै योजना अघि बढाउन नसकिने भन्दै अब वैकल्पिक वित्त कोषमार्फत स्रोत जुटाइने बताए । उनका अनुसार बजेट ल्याउने बेलामा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुनु दुर्भाग्य हो । ‘स्थानीय तहमा पर्याप्त कर्मचारी र स्रोतसाधन उपलब्ध गराउनुपर्छ,’ उनले भने ।
कार्यक्रममा श्रीनगर एग्रो ग्रूप अफ कम्पनीका कार्यकारी निर्देशक मौसमी श्रेष्ठले आफूहरू विदेश गएका किसानलाई पुनः फर्काउन लागिपरेको बताइन् । उनीहरूको उत्पादन क्षमतालाई सुधार गर्न चाहिरहेको श्रेष्ठको भनाइ छ ।
उनले भनिन्, ‘जब म किसानको फार्ममा जान्छु, म उनीहरूका आँखामा आशा देख्छु । अहिले हाम्रो लक्ष्य किसानको क्षमता अभिवृद्धि र उनीहरूको जीवनशैली रूपान्तरण हो । यो सजिलो यात्रा होइन, तर हामीले गरिरहेका छौं ।’ उनले आफूहरूको सोच र प्रयास नवप्रविधिमाथि केन्द्रित रहेको बताइन् । श्रेष्ठका अनुसार किसानको उत्पादन क्षमतालाई सुधार गर्न र नवप्रविधिमा जोड्न जरुरी छ ।