प्यूठान । लगातारको वर्षाले अधिकांश ठाउँका किसान धान रोपाइँमा व्यस्त छन् । तर, प्यूठानका किसानलाई भने चैते धान भित्र्याउने चटारो छ । जिल्लाको ऐरावती गाउँपालिका, मल्लरानी गाउँपालिका र स्वर्गद्वारी नगरपालिकाका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई छ ।
चैतमा लगाएको धान साउनमा पाकेपछि अहिले किसानलाई धान रोप्नेभन्दा भित्र्याउन हतारो परेको हो । साउनको झरीमा धान थन्काउन भ्यान नभ्याइ भएको ऐरावती गाउँपालिका–४ का किसान सम्झना राउतले बताइन् । ‘वर्षे धानको तुलनामा चैते धानको उत्पादन राम्रो हुन्छ’, उनले भनिन्, ‘सिँचाइको सुविधा भएकाले हामीले वर्षको ३ बाली खेती गर्छौं ।’ चैते धान थन्क्याएपछि मात्रै वर्षे धान रोप्ने तयारी गरेको उनको भनाइ छ ।
ऐरावतीको बरौला, लादाम, गोठीबाङ, मल्लरानी गाउँपालिकाको चुजाठाटी लगायत क्षेत्रमा चैते धान रोप्ने गरिन्छ । चैतमा रोपेको धान असारमै पाक्ने भए पनि यस वर्ष पानी धेरै परेकाले धान पाक्न ढिलाइ भएकोे किसानहरू बताउँछन् ।
प्यूठानमा चैतेधानको उत्पादन राम्रो हुने भएकाले किसानहरू चैते धान खेतीतर्फ आकर्षित हुँदै आएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (धानजोन) का अनुसार जिल्लामा १०० हेक्टर क्षेत्रफलमा चैते धान रोप्ने गरिएको छ ।
कार्यालयका अनुसार यस वर्ष धान उत्पादनमा वृद्धि हुने बताएको छ । ‘सिँचाइको सुविधा बीउविजन मल समयमै पाएको तथा समयले राम्रो साथ दिएकाले गत वर्षको तुलनामा उत्पादन बढ्ने अनुमान गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (धानजोन) प्यूठानका निमित्त प्रमुख सुमन खनालले बताए ।
‘प्यूठानमा चैते धान खेतीको सम्भावना राम्रो छ’ उनले भने, ‘यस वर्ष ४ दशमलव ३ प्रतिशतले उत्पादन बढ्ने अनुमान गरेका छौं ।’ प्यूठानमा यसको सम्भावना राम्रो भएकाले यस थप १०० हेक्टरमा विस्तार गर्ने तयारी गरेको खनालले बताए ।
उनका अनुसार पछिल्लो समय ऐरावती गाउँपालिकाको बरौला, बिजुली, गोठीबाङलगायत क्षेत्र चैते धानको पकेट क्षेत्रको रूपमा विकास हुँदै गएको छ । प्यूठानका अन्य क्षेत्रमा जनशक्ति अभाव तथा सिँचाइको अभावका कारण चैते धान रोप्न छोडिएको छ ।