प्यूठान । कोरोना महामारीका कारण बन्द रहेका प्यूठानका सामुदायिक तथा निजी विद्यालयहरूले पढाइ सुरु गरेका छन् । प्यूठानका स्थानीय तहले सुरक्षा सतर्कता अपनाएर सामुदायिक तथा निजी विद्यालय सञ्चालन गर्न अनुमति दिएपछि नियमित पठनपाठन सुरु भएको हो ।
विद्यालय बन्द हुँदा विद्यार्थीको शैक्षिक सत्रमा असर पुग्ने भन्दै प्यूठानका स्थानीय तहले सावधानी अपनाएर शैक्षिक संस्थाहरू खुलाउन निजी तथा सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएका छन् ।
सरकारले विद्यार्थीहरूको पठनपाठनका लागि अनलाइन कक्षा तथा रेडियो तथा टेलिभिजनबाट दूरशिक्षा कार्यक्रम सञ्चालन गरेको छ । तर, सरकारले वैकल्पिक माध्यमबाट पठनपाठन सुरु गरे पनि प्यूठानमा प्रभावकारी हुन सकेको छैन ।
जिल्लाका ग्रामीण क्षेत्रमा इन्टरनेट तथा विद्युत् पहुँच नभएकाले प्यूठानको नौबहिनी गाउँपालिका–६ मा रहेको गंगा माविले स्वास्थ्य सुरक्षा अपनाएर नियमित विद्यालय सञ्चालन गरेको छ । विद्यार्थीहरूलाई छुट्टाछुट्टै समय बोलाएर पठनपाठन सुरु गरेको गंगा माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रबहादुर केसीले बताए ।
उनले भने, ‘हामीले पालिकाको निर्देशनअनुसार स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गरेको छौं । त्यसका लागि भौतिक दूरी, मास्क, सेनिटाइजर अनिवार्य गरेका छौं ।’ लामो समयको बन्दाबन्दीले विद्यार्थीको पठनपाठनमा समस्या भएपछि पालिकाले स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय सञ्चालन गर्न निर्देशन दिएको हो ।
विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको पालिका भौगोलिक रुपमा फरक–फरक भएकाले समुदाय स्तरमै पुगेर पठनपाठन गराउन नसक्ने अवस्था रहेको नौबहिनी गाउँपालिकाको शिक्षा शाखा प्रमुख डिल्ली आचार्य बताउँछन् ।
‘हामीले विद्यालयलाई विभिन्न विकल्पसहित पठनपाठन गराउन निर्देशन दिएका छौं,’ उनले भने, ‘विद्यालयको अवस्था तथा शिक्षकको संख्याअनुसार घरदैलो वा विद्यालय हाताभित्रै अध्ययन चलाउन भनेका छौं ।’
लामो समय विद्यालय क्षेत्रबाट बाहिर रहेका विद्यार्थीमा पढ्ने बानी हराउन थालेको अभिभावकको चिन्तापछि शिक्षकले समूह बनाएर विद्यालय तथा पायक पर्ने स्थानमा पुगेर पढाउन थालेका छन् ।
शिक्षकले आइतबार, बुधबार कक्षा १, ३, ६, ९, ११, सोमबार र बिहीबार ५, ७, १० र १२ तथा बालविकास एवं २, ४, ८ र १२ कक्षाका विद्यार्थीलाई मंगलबार र शुक्रबार पढाउने गरिएको छ । यसअघि जिल्लाका सरुमारानी, माण्डवी, ऐरावती, गौमुखी, मल्लरानी गाउँपालिकालगायतका स्थानीय तहले पठनपाठन सुरु गरिसकेका छन भने केहीले कक्षा सञ्चालनको तयारी गरेको सम्बन्धित स्थानीय तहका शिक्षा शाखाले जनाएका छन् ।