प्यूठान । प्यूठानका ९ ओटा स्थानीय तहमा रू. २७ करोड बेरुजू देखिएको छ । महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन अनुसार प्यूठानका ७ ओटा गाउँपालिका र २ ओटा नगरपालिकाको कुल रू. २७ करोड ७८ लाख १२ हजार बेरुजू देखिएको हो ।
९ ओटा स्थानीय तहमध्ये सबैभन्दा धेरै बेरुजू गौमुखी गाउँपालिकाको देखिएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७५/७६ को महालेखा परीक्षकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कुल बेरुजूको १० दशमलव ८५ प्रतिशत अर्थात रू. ८ करोड १० लाख ३२ हजार गौमुखीको छ ।
त्यस्तै सबैभन्दा कम झिमरुक गाउँपालिकामा १ दशमलव ५८ प्रतिशत अर्थात रू. १ करोड १९ लाख ९४ हजार बेरुजू छ । अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा कुनै पनि बेरुजू नदेखिएको माण्डवी गाउँपालिकामा गत आर्थिक वर्षमा ३ दशमलव २१ प्रतिशत अर्थात रू. १ करोड ६४ लाख ५ हजार बेरुजू छ ।
यस्तै नौबहिनी गाउँपालिकाको रू. १ करोड ९३ लाख ३ हजार, सरुमारानी गाउँपालिकाको रू. ३ करोड ५३ लाख ४६ हजार बेरुजू देखिएको छ । रू. ६५ करोड ४८ लाख ८५ हजारको लेखा परीक्षण गरिएको ऐरावती गाउँपालिकामा रू. १ करोड ३२ लाख ४ हजार बेरुजू देखिएको छ ।
यस्तै स्वर्गद्वारी नगरपालिकाको रू. १ करोड ७७ लाख ५३ हजार, मल्लरानी गाउँपालिकाको रू. २ करोड ८२ लाख ५ हजार र प्यूठान नगरपालिकाको रू. ५ करोड ४५ लाख २ हजार बेरुजू रहेको महालेखा परीक्षकको कार्यालयले बताएको छ ।
अघिल्लो आर्थिक वर्ष प्यूठानमा करीब रू. ७ करोड ५० लाख बेरुजू थियो । यो वर्ष बढेर रू. २७ करोड पुगेको हो ।
महालेखा परीक्षकले गौमुखी गाँउपालिकाको रू. ७४ करोड ७१ लाख ७० हजार, झिमरुकको रू. ७५ करोड ७७ लाख ६६ हजार, माण्डवीको रू. ५१ करोड ४ लाख ९३ हजार, सरुमारानीको रू. ५८ करोड ४८ लाख १४ हजार, नौबहिनीको रू. ७५ करोड ६० हजार ८० हजारको लेखा परीक्षण गरेको थियो ।
त्यस्तै ऐरावतीको रू. ६५ करोड ४८ लाख ८५ हजार, मल्लरानीको रू. ६० करोड ६९ लाख ५१ हजार, स्वर्गद्वारी नगरपालिकाको रू. ८८ करोड ८९ लाख २९ हजार र प्यूठान नगरपालिकाको रू. १ अर्ब १५ करोड ८० लाख ३ हजारको लेखा परीक्षण गरेको कार्यालयले बताएको छ ।