प्यूठान । प्यूठानमा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि जिल्लास्तरीय आइसोलेसन कक्ष स्थापना गरिएको छ । सरकारले लामो समयदेखिको बन्दाबन्दी खुलाएपछि प्यूठानमा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिदै गएको छ । जिल्लामा लक्षण सहितका कोरोना संक्रमित फेला परेर बाहिरी जिल्लाका आइसोलेशनमा पठाउनुपर्ने बाध्यता भएपछि जिल्लामा पहिलोपटक ५० शøयाको सुविधासम्पन्न आइसोलेसन सञ्चालनमा ल्याइएको हो ।
जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको पहलमा प्यूठान नगरपालिका–४ बिजुवारस्थित ज्येष्ठ नागरिक संरक्षण केन्द्रमा आइसोलेसन कक्ष तयार गरिएको प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । आइसोलेसन केन्द्रमा मापदण्ड अनुसार सुरक्षा, एम्बुलेन्स, शववाहन, स्वास्थ्यकर्मीसहित आवश्यक पूर्वाधारको समेत व्यवस्थापन मिलाइएको छ । केन्द्रमा आवश्यकता अनुसार ७० शय्यासम्म राख्नेगरी तयारी गरिएको छ । आइसोलेसन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ । आइसोलेसनमा लक्षणसहितका संक्रमितलाई राखिनेछ ।
प्यूठानमा हालसम्म ४४८ जना कोरोना संक्रमित पुष्टि भएका छन् । त्यसमध्ये सक्रिय संक्रमित ५९ जना छन् । १ जना कोरोना संक्रमितको बुटवल कोरोना अस्पतालमा मृत्यु भएको भने ३८८ संक्रमित निको भएर घर गएको स्वास्थ्य कार्यालय प्यूठानले बताएको छ । कार्यालयका अनुसार जिल्लाबाट कोरोना परीक्षणका लागि स्वाब पठाइएकामध्ये ४१० जनाको परीक्षण रिपोर्ट आउन बाँकी छ ।