भदौ १६, प्यूठान । प्यूठान जिल्लामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि जिल्लास्तरीय सुविधा सम्पन्न आईसोलेशन केन्द्र स्थापना गरिएको छ ।
सरकारले बन्दाबन्दी खुलाएसँगै प्यूठानमा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिदै गएको छ । जिल्लामा संक्रमितको दर बढेपछि बाहिरी जिल्लाको आईसोलेशनमा पठाउनु पर्ने बाध्यता भएकाले जिल्लामा पहिलो पटक ५० शय्याको आईसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको हो ।
जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको पहलमा प्यूठान नगरपालिका–४ विजुवारस्थित जेष्ठ नागरिक संरक्षण केन्द्रमा आईसोलेशन तयार गरिएको प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।
आईसोलेशन केन्द्रमा मापदण्ड अनुसार सुरक्षा, एम्बुलेन्स, सववाहन, स्वास्थ्यकर्मीको व्यवस्थापनलगायत आवश्यक पूर्वाधारको समेत व्यवस्थापन मिलाइएको छ । केन्द्रमा आवश्यकता अनुसार ७० शय्यासम्म राख्नेगरी तयारी गरिएको छ । आईसोलेशनको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ ।
प्यूठानमा हालसम्म ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये सक्रिय संक्रमित ५९ जना रहेका छन् । १ जना कोरोना संक्रमितको बुटवल कोरोना अस्पतालमा मृत्यु भएको र ३८८ जना संक्रमित निको भएर घर फर्किएका स्वास्थ्य कार्यालय प्यूठानले जानकारी दिएको छ ।