प्यूठान । कोरोना भाइरसका कारण पर्याप्त रासायनिक मलको आपूर्ति नहुँदा प्यूठानमा मलको अभाव सृजना भएको छ । किसानहरूको मागअनुसार सरकारले रासायनिक मल (यूरिया)को आपूर्ति गर्न नसक्दा अभाव भएको हो । धान गोडमेल तथा मल छर्ने समयमा रासायनिक मलको व्यवस्थापन गर्दै आएका सहकारी संस्थाले मागअनुसारको आपूर्ति गर्न नसक्दा युरियाको अभाव भएको हो ।
यो वर्ष समयमै मनसुन शुरू भएपछि खुशी भएका किसानहरू अहिले धान गोडमेल गर्ने समयमा युरिया मल नपाउँदा चिन्तित छन् । जिल्लामा सहकारी संस्थाले रासायनिक मलको व्यवस्थापन गर्दै आएका छन् । तर, अहिले सहकारीले मल व्यवस्थापनमा पनि चासो नदिएको किसानले गुनासो गरेका छन् । धानको उत्पादकत्व बढाउन रासायनिक मलको प्रयोग गर्ने गरिन्छ । तर, यस वर्ष मलको अभाव हुँदा उत्पादनमा कमी आउने किसानहरू बताउँछन् ।
धान गोडमेल गर्न समयमै बजारमा युरिया मल नपाएको झिमरुक गाउँपालिका ४ का किसान तिलक केसीले बताए । ‘मल आपूर्ति गर्दै आएको सहकारीमा युरिया नै छैन’, उनले भने, ‘मल राख्न नपाउँदा उत्पादनमा ह्रास आउने भयो ।’ सरकारी अनुदानको मल अभाव हुँदा बजारबाट बढी मूल्य तिरेर खरीद गर्न किसान बाध्य भएका छन् । जिल्लामा रासायनिक मलको व्यवस्थापन गर्दै आएको सहकारीले भने कृषि सामग्री कम्पनी र साल्ट टे«डिङ कर्पाेरेशन भैरहवामै मल नभएको बताएका छन् ।
कोरोना भाइरसका कारण मागअनुसार भारतबाटै मल आयात हुन नसकेको रासायनिक मल विक्री गर्दै आएको प्यूठान नगरपालिका–८ को श्रमिक सहकारी संस्थाका व्यवस्थापक कृष्ण प्रसाद पन्थीले बताए । ‘सहकारीमा मलको माग धेरै छ । तर, मल दिन सकिएको छैन’, उनले भने, ‘मल लिन आउनेलाई फर्काउनु परेको छ ।’
कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेशन भैरहवाबाटै रासायनिक मल आपूर्ति नभएको प्रधानमन्त्री कृषि आधुनिकीरकरण परियोजना (धानजोन) प्यूठानका निमित्त प्रमुख सुमन खनालले बताए । उनका अनुसार जिल्लामा हालसम्म २ टन मात्रै युरिया मल मौज्दात छ । जिल्लामा यो समय करीब १०० टन युरिया आवश्यक पर्छ । ‘कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेशन भैरहवाबाट मल आएको छैन’, उनले भने । पछिल्लो समय जिल्लामा कम्पोष्ट मलभन्दा रासायनिक मलको प्रयोग बढ्दै गएको छ ।
खनालका अनुसार हालसम्म जिल्लामा २ टन युरिया, २२ टन डीएपी र ८ टन पोटास मौज्दात छ भने आर्थिक वर्ष २०७७/७८ मा ९४२ टन युरिया, ५५२ टन डीएपी र ५२ टन पोटास खरीद गर्न माग भएको छ । प्यूठानमा कुल ४२ हजार हेक्टर खेतीयोग्य जमीनमध्ये ६ हजार ५५० हेक्टर जमीनमा धान खेती गर्ने गरिन्छ ।