प्यूठान । कोरोना भाइरसका कारण प्यूठानमा रगत अभाव हुन थालेको छ । कोरोना संक्रमणको त्रासमा रक्तदाताहरूले रक्तदान गर्न छाडेका कारण प्यूठानमा रगत अभाव हुन थालेको हो । कोभिड–१९ को संक्रमण फैलिएपछि रक्तसञ्चार केन्द्रमा रक्तदान गर्नेको संख्यामा कमी आएको छ । प्यूठानमा रगत अभाव हुँदा बिरामीले समयमै उपचार पाउन समेत छाडेका छन् ।
जिल्लामा पर्याप्त रगत संकलन नहुदाँ बिरामीलाई रगत अभाव हुने गरेको रक्त सञ्चार केन्द्रका प्रमुख आशिष थापाले बताए । ‘सरकारले कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न बन्दाबन्दी गरेपछि ३ महीनायता पर्याप्त रक्तदान हुन सकेको छैन’, उनले भने, ‘ब्लड बैंकमा रगत अभाव हुँदा बिरामीका आफन्तलाई रगत जोहो गर्न समस्या परिरहेको छ भने बिरामीले समयमै उपचार पाउन समस्या भइरहेको छ ।’
ब्लड बैंकमा रगत संकलन कार्य अत्यन्तै न्यून रूपमा हुन थालेपछि बिरामीका लागि रगत पाउन मुश्किल परेको हो । रक्तसञ्चार प्यूठान प्रमुख थापाका अनुसार प्यूठानमा ‘ए’ र ‘बी’ पोजेटिभ रगतको चरम अभाव देखिएको छ । अन्य रगत समूहमा खासै समस्या आइनसकेको उनको भनाइ छ । अस्पतालमा तत्काल बिरामीलाई ‘ए’ र ‘बी’ पोजेटिभ रगत आवश्यक परेको खण्डमा बिरामीको उपचारमा समस्या हुने थापाले बताए ।
गएको चैत ११ गतेयता जिल्ला अस्पताल प्यूठानमा १०४ जनाले रक्तदान गरेका छन् भने ९९ जना बिरामीलाई रगत आवश्यक परेको थियो । जिल्लास्थित स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्थानीय युवाहरूले रक्तदान गरेर रगतको माग पूर्ति गर्दै आएका छन् ।
अहिले जिल्लामा पर्याप्त मात्रामा रगत नहुँदा सुत्केरी, शल्यक्रिया गर्नु पर्ने तथा अन्य बिरामीको उपचारमा समस्या भएको जिल्ला अस्पतालका डा. सुनिल सुनारले बताए । ‘जिल्लामा रगत अभाव हुँदा बिरामीलाई स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले रगत दिनुपर्छ’, उनले भने, ‘चाहिएका बेलामा तुरुन्त रगत पाउन मुश्किल छ ।’
सामान्यतया १८ वर्षदेखि ६५ वर्ष उमेर समूहका स्वस्थ व्यक्तिले हरेक ३ महीनामा रक्तदान गर्दा शारीरिक हानी नहुने डाक्टरहरू बताउँछन् । मृत्यु नजिक पुगेका बिरामीको ज्यान बचाउन मद्दत पुग्ने भएकाले रक्तदानलाई पुण्यकर्म पनि मानिन्छ । त्यसैले कोरोना महामारीमा पनि अरुको जीवन रक्षा गर्नु मानवीय कर्तव्य भएकाले आपूm सुरक्षि हुँदै रक्तदान गर्न केन्द्रले अपिल गरेको छ ।