काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट अन्तिम स्वीकृति पाएको छ । कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न आयोगले अन्तिम स्वीकृति प्रदान गरेको हो ।
कम्पनीको असार ८ गते बसेको विशेष साधारण सभाले हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीको लगानी तथा व्यवस्थापनबाट सहायक कम्पनी साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपूँजी व्यवस्थापन गर्न हकप्रद शेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ ।
हाल कायम चुक्ता पूँजी रू. १ अर्ब ५४ करोड ८९ लाखको १ करोड ५४ लाख ८९ हजार १२ कित्ता शेयरको ५० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता शेयर कम्पनीले निष्कासन गर्नेछ । अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै हकप्रद शेयर निष्कासन गर्नेछ ।