काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव असार ८ गते पारित गर्ने भएको छ ।
जेठ २२ गतेको सञ्चालक समिति बैठकले इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे विशेष साधारण सभा गर्ने निणर्य गरेको हो । कम्पनीको सहायक कम्पनीमार्फत निर्माण गर्न लागिएको १० मेगावाट क्षमताको तल्लो बलेफी जलविद्युत आयोजनाका लागि आवश्यक स्वपूँजी लगानीका लागि हकप्रद शेयर निष्कासन गर्न लागिएको हो ।
कम्पनीले १ कित्ता बराबर शून्य दशमलव ५० कित्ताको अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्कासनको लागि सभामार्फत स्वीकृति प्रदान गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ५८ करोड ५५ लाख ५८ हजार रहेको छ । हकप्रद शेयर निष्कासनपछि कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी वृद्धि हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
कम्पनीलाई हकप्रद शेयर निष्कासनका लागि विद्युत् नियमन आयोगले वैशाख ३ गते अनुमति प्रदान गरिसकेको छ । वार्षिक साधारण सभाबाट पारित गराएपछि कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिनुपर्नेछ ।