जनकपुरधाम । मुस्लिम धर्मावलम्बीको ठूलो पर्व इद उल फित्र (रमजान) सोमवार नमाज पढेपछि सकिएको छ । रमजान अवधिमा जनकपुरधाममा व्यापार व्यवसाय बढेको स्थानीय व्यापारीहरूले बताएका छन् । यो पर्वमा दूध, सेबई, खजुर, काजु, किसमिस, फलफूल, लगायत उपभोग्य वस्तुको व्यापार बढेको हो । रमजानको महीनामा अघिल्लो महीनाको तुलनामा विक्री बढेको जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाका किराना व्यवसायी मो. अहमद हुसैनले बताए । यो अवसरमा आफ्नो पसलबाट २ लाख रुपैयाँ बराबरको इदका सामग्री विक्री भएको उनले सुनाए ।
यस्तै रमजानका बेला खसी, कुखुराको मासु पनि सामान्य बेलाको तुलनामा करीब दोब्बरले बढेको स्थानीय मासु विक्रेता मोहम्मद मजीबुलले बताए । रमजानमा नमाज पढ्न मुस्लिम धर्मावलम्बीहरू नयाँ लत्ता, कपडा लगाएर जाने गर्छन् । यो पर्वमा कुर्ता, पाइजामाको विक्री बढ्ने गरेको जनकपुरधाम मुरलीचोकका कपडा व्यवसायी मो. कलाम शेषले बताए । यस्तै मुस्लिम महिलाले लगाउने, सलवार समीज, साडी, दुपट्टा, लेहेंगा, बुर्का लगायत कपडाको समेत विक्री बढेको जनकचोकका कपडा व्यवसायी प्रमोद साहले बताए । रमजानको बेला घरको रङरोगनका लागि पेन्ट्सको कारोबार समेत अन्य बेलाको भन्दा बढी हुने गरेको छ ।
अहिले राष्ट्रिय अर्थतन्त्रमा सुस्ती देखिए पनि रमजानले स्थानीय अर्थतन्त्र केही मात्रामा चलायमान बनाएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भन्डारीले बताए । जनकपुरधामको व्यापार व्यवसाय चाडपर्वमा मात्र होइन, जुनकुनै बेला चलायमान हुनुपर्नेमा उनले जोड दिए । यस क्षेत्रको व्यापार व्यवसायले गति लिन नसक्नुको मुख्य कारण खुला सीमा नाका र नेपाली जनताले भारतीय बजारमा उपभोग्य वस्तु खरीद गर्नु रहेको उनले बताए ।
अहिले राष्ट्रिय अर्थतन्त्रमा सुस्ती देखिए पनि रमजानले स्थानीय अर्थतन्त्र केही मात्रामा चलायमान बनाएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भन्डारीले बताए ।