रोल्पा । रोल्पामा पर्माकल्चर विधिबाट तरकारीखेती शुरू गरिएको छ । जिल्लाको सुनीलस्मृति गाउँपालिका–६ दलंगामा पर्माकल्चर कृषि समूह नै गठन गरेर यो विधिबाट तरकारीखेती शुरू गरिएको हो ।
पर्माकल्चर विधिमा कीटनाशक रासायनिक विषादीको प्रयोग नगरी टर्रो, तीतो, अमिलो र पिरो वस्तुलाई भाँडामा कुहाएर बनाइएको झोलमलको प्रयोग गरिन्छ । रासायनिक मलको सट्टा मिचाहा प्रजातिको झारपातलाई जलाएर बनाइएको कोइला अर्थात् ‘बायो ४’ लाई मलको रूपमा प्रयोग गरिन्छ । उक्त झोल र मलमा सूक्ष्म जीव जीवित रहने हुँदा उत्पादनमा वृद्धि हुने बताइएको छ ।
पासो बनाएर कीरा मार्ने, रैथाने बालीको संरक्षण गर्ने यो विधिको मुख्य उद्देश्य हो । पर्माकल्चर खेतीबाट जलवायु अनुकूलन र उत्पादनमा पनि वृद्धि हुने गरेको अगुवा कृषक इन्द्रबहादुर थापाले बताए । ‘यसले वातावरण र स्वास्थ्यमा पनि असर गर्दैन,’ थापाले भने, ‘उत्पादनमा समेत वृद्धि भएको छ ।’
पर्माकल्चर खेतीका लागि पहाडी साना किसानका लागि अनुकूलन आयोजनाले तालीम तथा प्राविधिक सहयोग गर्दै आएको छ । निर्वाहमुखी खेतीबाट आत्मनिर्भरमुखी बनाउन वडा कार्यालयले पनि कृषकलाई विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गरेको सुनीलस्मृति गाउँपालिका–६ का वडाध्यक्ष अर्जुन सुवेदीको भनाइ छ । ‘कृषि क्षेत्रबाटै बाँच्न सक्छु भन्ने जो कसैलाई पनि गाउँपालिकाले सहयोग गर्दै आएको छ,’ सुवेदीले भने, ‘हामीले तालीम र प्राविधिक सहयोगसँगै यान्त्रिकीकरणमा पनि सहयोग गरेका छौं ।’
परम्परागत रूपमा खेती गर्दै आएका यहाँका कृषकले सुदृढ खेती प्रणालीबाट उत्पादन वृद्धि गरी आत्मनिर्भरतासँगै आम्दानी बढाउँदै लगेका छन् ।