सिन्धुपाल्चोक । चीनले कोरोना संक्रमणको बहानामा बन्द गरेको उत्तरको रसुवागढी नाकाबाट सामान पठाएको छ । उत्तरको अर्को प्रमुख व्यापारिक नाका तातोपानीबाट भने साबिककै गतिमा सामान आइरहेको छ ।
चारदिने भ्रमणमा नेपाल आएका चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चाङ्सुले नाका खुल्ने आश्वासन दिएको भोलिपल्टै रसुवागढीबाट चिनियाँ सामान आउन थालेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटवार्ताका क्रममा लीले बुधवार बन्द नाका तत्काल खुल्ने बताएका थिए । नाका बन्द रहेको विषयमा आफूले व्यापारिक क्षेत्र हेर्ने चिनियाँ अधिकारीसँग कुरा गरेको र उक्त सन्देश राष्ट्रपति सी चिनफिङसम्म पुगेको उनले जानकारी दिएका थिए ।
रसुवागढी नाका गत साउन २१ देखि ठप्प थियो । तिब्बतमा कोरोना संक्रमण बढेको भन्दै चीनले उक्त नाका बन्द गरेको हो ।
चीनले नाका बन्द गरेका कारण आयातित सामग्री बोकेका करीब ४०० कन्टेनर सीमापारि रोकिएको सम्बद्ध व्यवसायीको भनाइ छ । नेपाल हिमालय सीमापार वाणिज्य संघका अनुसार चीनले नाका बन्द गरेपछि रसुवागढीपारि केरुङ र तातोपानीपारि खासामा उक्त संख्यामा कन्टेनर रोकिएका हुन् । कन्टेनर रोकिँदा चाडपर्वलक्षित सामानमा लगानी गरेका व्यवसायीले ठूलो घाटा सहनुपर्ने स्थिति आएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्की बताउँछन् ।
रसुवागढी नाकाबाट बिहीवार बिहान ९ बजेदेखि सामान आउन थालेको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार पहिलो चरणमा बिहान सातओटा ठूला चिनियाँ कन्टेनर सामान बोकेर नेपाल आएका थिए ।
मितेरी पुलबाट चिनियाँ मालवाहक कन्टेनर नेपाल प्रवेश गर्नुपूर्व सीमाक्षेत्रमा कार्यरत सुरक्षाकर्मीले कन्टेनर हिँड्ने बाटोमा औषधि छर्केका थिए । पहिलो चरणमा नेपाली सुरक्षाकर्मीले सामान पल्टी गर्ने ठाउँदेखि मितेरी पुलसम्म औषधि छर्केको र दोस्रो चरणमा चिनियाँ सुरक्षाकर्मीले चीनको भूभागबाट सामान पल्टी गर्ने ठाउँसम्म पुन: औषधि छर्केको बताइएको छ ।
केरुङमा दशैंका लागि चीनबाट झिकाएको करीब २ अर्ब ५० करोड रूपैयाँको सामग्री रोकिएको व्यवसायीको भनाइ छ ।
तातोपानी नाका भने खुले/नखुलेको केही भन्न नसकिने सम्बद्ध अधिकारी बताउँछन् । तातोपानीस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार उक्त नाकाबाट बिहीवार पनि साबिककै अनुपातमा मालवाहक कन्टेनर नेपाल आएका छन् ।
गौतमका अनुसार तातोपानी नाकाबाट दैनिक तीनदेखि चारओटासम्म कन्टेनर सामान बोकेर नेपाल आइरहेका छन् । ‘शनिवारदेखि बिहीवार दिउँसोसम्म १८ कन्टेनर सामग्री भित्रिएको छ,’ भन्सार प्रमुख गौतमले भने, ‘नाका पूर्णरूपमा खुलिसकेको छैन । बाटोमा रोकिएका कन्टेनर भने क्रमश: भित्रिरहेका छन् ।’
तिब्बतमा कोरोना संक्रमण बढेको भन्दै चीनले साउन २५ गतेदेखि तातोपानी नाकाबाट निर्यात रोकेको थियो । गौतमका अनुसार स्याउ, लसुनजस्ता कुहिने सामानका कन्टेनरलाई सहजीकरण गरिदिन पटकपटक आग्रह गरेपछि चिनियाँ अधिकारीले त्यस्ता सामान पठाउन थालेका थिए ।
बिहीवार सिगात्सेबाट केही कन्टेनर तातोपानीतर्फ अघि बढेको जानकारी आएको पनि गौतमले बताए ।
उनका अनुसार तिब्बतमा अझै बन्दाबन्दी जारी छ । यसपटक चीनबाट दशैंतिहार लक्षित सामान आउने सम्भावना गौतमले देखेका छैनन् । ‘तिब्बतको मुख्य सडकमा सवारीसाधन चलेका छैनन् । रोकिएका सामग्री भित्रिइसकेपछि पुन: नाका बन्द हुने सम्भावना छ,’ उनले भने ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल चीनबाट नियमितरूपमा नाका खोलेको जानकारी आइनसकेको बताउँछन् । ‘केही कन्टेनर सामान दैनिक आइरहेकै छन् । तर, नाका खुलेको हो/होइन भन्ने विषयमा चिनियाँ पक्षले कुनै जानकारी दिएको छैन,’ उनले भने । उनले नाका नियमित हुन्छ कि हुँदैन भनेर चिनियाँ पक्षलाई छलफलमा आउन अनुरोध गरेको बताए ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेत केही मात्रामा कन्टेनर भित्रिए पनि दशैंलक्षित सामग्री नआएको बताउँछन् । ‘स्याउ, लसुनजस्ता सामग्री बोकेका कन्टेनरमात्रै भित्रिएका छन्,’ उनले भने, ‘चाडपर्व लक्षित सामान बोकेको कन्टेनर एउटा पनि आएको छैन ।’ लत्ताकपडा, जुत्ता चप्पलजस्ता सामग्री बोकेका सयभन्दा बढी कन्टेनर खासा, न्यालम र ल्हासामै अड्किएको उनले जानकारी दिए ।
‘व्यापारीका अर्बौं मूल्यका सामान तिब्बती क्षेत्रमा रोकिएका छन्,’ बस्नेतले भने, ‘रोकिएको सामान भित्र्याउन र नाका सहज बनाउन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमालय सीमापार वाणिज्य संघ, भोटेकोशी चेम्बर अफ कमर्शलगायत संघसंस्थाले नेपाल र चीन सरकारलाई पटकपटक ज्ञापनपत्र बुझाए पनि सुनुवाइ भएको छैन ।’
चाडपर्वको मुखमा आयात रोकिँदा सबैभन्दा बढी मर्कामा आफूहरू परेको व्यवसायीको गुनासो छ । दशैंका सामान समयमै बजार पुर्याउन नसके लगानी डुब्ने भोटेकोशी चेम्बर अफ कमर्शका अध्यक्ष फुनु शेर्पा बताउँछन् ।