माघ २५, काठमाडौं (अस) । नेपालस्थित इजरायली दूतावास र सालोम क्लब नेपालले आइतवार काठमाडौंमा प्रतियोगितात्मक फोटो प्रदर्शनीको आयोजना गरेका छन् । ठमेलस्थित क्याफे दि आर्टमा आयोजित प्रदर्शनीमा इजरायल अन्तरराष्ट्रिय सहयोग नियोग (मसाभ)अन्तर्गत विभिन्न विषयमा तालीम तथा अध्ययनका लागि नेपालबाट इजरायल पुगेकाले खिचेका फोटा राखिएका छन् । प्रदर्शनीमा राखिएका ४४ फोटामध्ये दर्शकमतका आधारमा उत्कृष्ट पाँचलाई पुरस्कृत गरिएको थियो । यसरी पुरस्कृत हुने तस्वीरहरू क्रमशः सुवर्ण कर्माचार्य, प्रमोदकुमार झा, निराकार जोशी, विष्णु चापागाईं र श्रीराम केसीका छन् ।
इजरायलमा पुग्दाका क्षणलाई स्मरण गर्न खिचिएका फोटोले इजरायललाई चिनाउन सहयोग पुग्ने कार्यक्रममा नेपालका लागि इजरायलका राजदूत खनान गोदारले बताए । त्यस्तै सालोम क्लबका अध्यक्ष एवम् राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यले इजरायलले नेपालीहरूलाई विभिन्न क्षेत्रमा दक्षता हासिल गर्न अवसर प्रदान गरिरहेको बताए । उनले इजरायलमा सिकेका शीप र तालीमबाट व्यक्ति, समाज तथा देशले लाभ हासिल गर्न सक्ने बताए । कार्यक्रममा वीर अस्पतालका निर्देशक डा. बुलन्द थापाले इजरायलीहरू जस्तै जोश, जाँगर र मेहनतका साथ नेपालीले आ–आफ्नो काम गरेमा रोजगारीको लागि विदेश भौतारिनुनपर्ने बताए । कार्यक्रममा सालोम क्लबका सदस्य, उनीहरू परिवार र दूतावासका कर्मचारीहरूको उपस्थिति रहेको थियो । सालोम क्लब मसाभअन्तर्गत तालीम र अध्ययन गरेर स्वदेश फर्केकाहरूको संस्था हो ।