काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । कम्पनीले लाभांशसम्बन्धी सूचना धितोपत्र सूचीकरण विनियमावलीबमोजिम नगराएको भन्दै नेप्सेले मङ्सिर २३ गतेदेखि शेयर कारोबार रोक्का गरेको थियो ।
नेप्सेले कम्पनीले मङ्सिर २१ गते बिहान ९ः३० बजे सञ्चालक समितिको बैठकमार्फत लाभांशसम्बन्धी निर्णय गरी शेयरधनीहरूमा दिउँसो ३ः४२ बजे जानकारी गराएको भन्दै शेयर कारोबार रोक्का गरेको थियो ।
नेप्सेले स्पष्टीकरण माग गर्दै कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । कम्पनीले सञ्चालकहरूबाट धितोपत्रको मूल्यमा प्रभाव पार्ने कुनै दुराशय नभएको र सदाशयमा कार्य गर्दागर्दै प्राविधिक रूपमा मानवीय त्रुटिले फरक अवस्था सृजना हुन गएको स्पष्ट पारेको छ ।
अबउप्रान्त धितोपत्र सूचीकरणसम्बन्धी सम्झौताका शर्तको पूर्ण पालना गर्ने प्रतिबद्धता कम्पनीले गरेपछि नेप्सेले मङ्सिर २९ गते कारोबार खुला गर्ने निर्णय गरेको हो । नेप्सेको निर्णय कार्यान्वयन हुँदै कम्पनीको शेयर कारोबार आइतवारदेखि शुरू हुनेछ ।