मुम्बई (भारत) । दक्षिण कोरियाली इलेक्ट्रोनिक कञ्जुमर गूड्ज निर्माता कम्पनी सामसुङ भारतको सबैभन्दा विश्वासिलो ब्राण्ड बनेको छ । ‘द ब्राण्ड ट्रष्ट रिपोर्ट, २०१८’ शीर्षकको प्रतिवेदनले यस्तो देखाएको हो । सामसुङलाई पछ्याउँदै जापानी बहुराष्ट्रिय ब्राण्ड सोनी र कोरियाली ब्राण्ड एलजी दोस्रो र तेस्रो विश्वासिलो ब्राण्ड बनेका छन् । गतवर्षको सूचीमा यी कम्पनीहरू क्रमशः शीर्ष तीन स्थानमा रहेका थिए । विदेशी कम्पनीहरूको वर्चस्व तोड्दै टाटा गू्रप सूचीको शीर्ष ४ स्थानमा रहेको छ । अमेरिकी ब्राण्ड एप्पल गतवर्षको तुलनामा एक स्थान तल झरेर पाँचौं स्थानमा समेटिएको छ ।
पसर्नल कम्प्युटर (पीसी) निर्माता कम्पनी डेल २ स्थान माथि उक्लिएर सबैभन्दा विश्वासिलो ब्राण्डको छैटौं स्थानमा आइपुगेको छ । जापानी अटो ब्राण्ड होण्डा सातौं स्थानमा रहँदा स्पोटर््स ब्राण्ड नाइकी २९ स्थान उक्लिएर आठौं स्थानमा आइपुगेको छ । त्यसैगरी, पीसी निर्माता ह्युलेट प्याकर्ड (एचपी) र कार निर्माता मारुती सुजुकी क्रमशः सूचीको नवौं र दशौं स्थानमा रहेका छन् । यस वर्ष धेरै फड्को मार्नेमा चिनियाँ मोबाइल ब्राण्ड ओप्पो, स्पोर्ट्सवेयर पुमा, जर्मन अटो ब्राण्ड बीएमडब्ल्यू रहेका छन् । गतवर्ष २९औं स्थानमा रहेको ओप्पो यस वर्ष ११औं स्थानमा उक्लिएको छ ।
गतवर्षको तुलनामा ३२ स्थान माथि आएको पुमा यस वर्ष १२औं स्थानमा छ । गतवर्ष ३०औं विश्वासिलो ब्राण्डका रूपमा रहेको बीएमडब्ल्यू यस वर्ष १५औं स्थानमा उक्लिएको छ । ४० वर्षमा पहिलोपटक अमेरिकी सर्च इञ्जिन गूगल शीर्ष २० स्थानभित्र आएको छ । यस वर्ष यो सूचीको १८औं स्थानमा रहेको छ । प्रतिवेदनअनुसार यस वर्ष ३ सय २० नयाँ ब्राण्ड सूचीमा अटाउन सफल भएका छन् ।
३ सय ६८ ब्राण्डको विश्वसनीयता गुम्दा ३ सय ७ ब्राण्डमाथिको विश्वास भने बढेको छ । पाँच ब्राण्डले आफ्नो वरीयता जोगाउन सफल भएको प्रतिवेदनले देखाएको छ । बैङ्किङ, वित्तीय सेवा र बीमा क्षेत्रमा स्टेट बैङ्क अफ इण्डिया (एसबीआई) सबैभन्दा अगाडि रहेको छ । यो सूचीको २१औं स्थानमा रहेको छ । फूड र वेभरेज श्रेणीमा शीर्ष रहेको पेप्सी सूचीको ४४औं स्थानमा रहेको छ । एफएमसीजीको श्रेणीमा सबैलाई उछिनेर पतञ्जलि सूचीको १३औं स्थानमा आइपुगेको छ । एजेन्सी
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.