काठमाडौं । सबल व्यक्तिलाई समेत यात्रा गर्न कठिनाइ हुने हुने सार्वजनिक यातायातका साधनमा शारीरिक रूपमा अशक्तहरूलाई कति सास्ती होला ? सबै प्रकारका शारीरिक असक्षमता भएका यात्रुलाई सहज हुने किसिमको यातायात प्रणाली हामीसँग छैन, जसले गर्दा अपाङ्गता भएका व्यक्तिका लागि सार्वजनिक यातायात सकस बनिरहेको छ ।
राजधानीमा देशकै सबैभन्दा पुरानो यातायात संस्था साझा यातायातले २०७४ फागुनमा अपाङ्गतामैत्री बस सञ्चालनमा ल्याएको थियो । साझाले देशमै पहिलोपटक अपाङ्गतामैत्री बस ‘सेमी लो फ्लोर’ सञ्चालन गरेसँगै लक्षित वर्गका यात्रुलाई यात्रामा केही सहज भएको थियो । साझाको उक्त बस शारीरिक अशक्तता भएका, दृष्टिविहीन, वृद्धवृद्धा, बालबालिका लगायतका लागि चढ्न, बस्न र झर्न सजिलो हुनेगरी बनाइएका छन् । साझाबाहेक सिटी मेट्रो यातायात, महानगर यातायात जस्ता कम्पनीले पनि राजधानीमा अपाङ्गतामैत्री बस सञ्चालन गरिरहेका छन् । सिटी मेट्रो प्रालिले २०७३ माघमा अपाङ्गतामैत्री १० ओटा बस ल्याएर सञ्चालन गरेको थियो । यद्यपि, निजी सार्वजनिक यातायात कम्पनीसँग निकै थोरै सङ्ख्यामा मात्र यस्ता बस छन् ।
अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक सवारीमा ५० प्रतिशत छूट र आरक्षण सीटको व्यवस्था गर्नुपर्ने अपाङ्ग कल्याण सेवा ऐन २०३९ ले व्यवस्था गरेको छ । यस्ता सवारीसाधनमा अपाङ्गता भएका एक पुरुष र एक महिलाका लागि अनिवार्य रूपमा सीट आरक्षण गर्नुपर्ने प्रावधान छ । यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले सबै प्रकारका यात्रुको हितका लागि ‘सार्वजनिक यातायात आचार संहिता २०६८’ पनि ल्याएको छ । उक्त संहितामा सवारी चालक तथा परिचालकले बाटोमा महिला, शारीरिक अपाङ्गता भएका व्यक्ति, बिरामी तथा वृद्धवृद्धालाई भेटेमा प्राथमिकता साथ यात्रा गराउनुपर्ने उल्लेख छ । यसैगरी बाटोमा अशक्त, दृष्टिविहीन र बिरामी व्यक्तिले सवारीसाधन रोक्ने सङ्केत दिँदा चालकले रोक्नुपर्ने पनि संहितामा भनिएको छ ।
यातायात व्यवसायीको छाता सङ्गठन राष्ट्रिय यातायात व्यवसायी महासङ्घले २०६० सालमा पूर्ण अशक्त र अपाङ्गता भएका व्यक्तिलाई भाडामा ‘विशेष छूट’ दिने सहमति गरेको थियो । महासङ्घले यस्ता अशक्त यात्रुको सहयोगीलाई समेत भाडामा छूट दिने सहमति गरेको थियो । तर, केही वर्षपछि नै यातायात व्यवसायीले छूट दिन छाडेका थिए । राजधानी तथा देशका विभिन्न स्थानमा सञ्चालित साना यातायातका कारण पनि अपाङ्गता भएका व्यक्तिले सास्ती भोगिरहेका छन् । साना माइक्रो, टेम्पो, छोटा बस र मिनी बस अपाङ्गता भएकाहरूले चढ्न नै नमिल्ने संरचनाका छन् ।
साझाको अपाङ्गतामैत्री बसका विशेषता
६ ओटा पाङ्ग्रा भएको साझाको सेमी फ्लोर बसमा ४१ ओटा सीट र दुईओटा ढोका छन् । पछिल्लो ढोकामा फोल्ड गर्न मिल्ने ¥याम्प (ह्वीलचियर लैजान मिल्ने भ¥याङ) छ । यसका ढोका भुइँबाट नजिकै भएकाले पनि शारीरिक अपाङ्गता भएका, दृष्टिविहीन र वृद्धवृद्धालाई चढ्न सजिलो हुन्छ । बसमा सीसीटीभी क्यामेरा र डिस्प्ले टीभीसमेत छन् । बसको ब्रेक प्रणाली सबै पाङ्ग्रामा जडान गरिएकाले ब्रेक लगाउँदा ठूलो धक्का पर्दैन ।
उक्त बसमा सम्बन्धित गन्तव्यबारे जानकारी दिने प्रविधि पनि छ, जुन दृष्टिविहीनका लागि निकै सहयोगी हुने गरेको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले बताए । उनका अनुसार बजार मूल्य करीब रू. १ करोड रहेको यस्ता अपाङ्गतामैत्री बस अशोक लेल्याण्ड कम्पनीले सहुलियत दिएपछि ३५ लाखमा खरीद गरिएको हो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.