प्यूठान । सरकारले लकडाउनमा खुकुलो नीति अपनाएसँगै जिल्लाका सडकहरूमा सवारी चहलपहल शुरू भएको छ । बन्दाबन्दीका कारण पूर्ण रूपमा बन्द भएका बजार, पसल तथा छोटो दूरीका सार्वजनिक यातायात र निजी सवारीहरू गुड्न थालेपछि सडकमा भीडभाड बाक्लिएको छ ।
सरकारले बन्दाबन्दी हटाएपछि सञ्चालनमा आएका सार्वजनिक सवारीसाधनहरूले मनपरी भाडा असुल्न थालेका छन् भने स्वास्थ्य सुरक्षाका उपायहरू अपनाएका छैनन् । सरकारले स्वास्थ्य मापदण्ड अन्तर्गत सुरक्षाका सामग्री प्रयोग गर्दै भौतिक दूरी कायम गरी सवारी सञ्चालन गर्नु पर्ने नियम बनाए पनि प्यूठानका सार्वजनिक तथा निजी सवारीसाधनले उक्त नियम कार्यान्वयन नगरेको यात्रुहरूको गुनासो छ ।
सार्वजनिक सवारीसाधनमा क्षमताभन्दा आधा मात्र यात्रु बोक्नु पर्ने भए पनि यहाँका सार्वजनिक यातायातले उक्त नियमको समेत खिल्ली उडाइरहेका छन् । त्यस्तै सरकारले ५० प्रतिशत भाडा बढाए पनि प्यूठानमा चल्ने गाडीहरूले शतप्रतिशत भाडा बढाएर लिने गरेको प्यूठान नगरपालिका–४ निवासी सुमन सुवेदीले गुनासो गरे ।
‘सबै खालका सवारीसाधनले सरकारले तोकेको भन्दा दोब्बर भाडा असुल गरिरहेका छन्’, उनले भने, ‘त्यसमाथि सुरक्षा मापदण्द अपनाइएको छैन, यसले यात्रु तथा स्वयं चालक–सहचालकको समेत स्वास्थ्य जोखिममा पारेको छ ।’ सवारीसाधनले सरकारको नियम पालन गरे÷नगरेकोसम्बन्धी निगरानी र अनुगमन सम्बन्धित पक्षले नगरेको गुनासो पनि उनले गरेका छन् ।
सार्वजनिक यातायातका साधनले यसअघि रू. ५० लिने गरेको प्यूठान खलंगा–बाग्दुला सडक खण्डमा अहिले रू. १५० सम्म लिन थालेका छन् । यद्यपि, जिल्लाको स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रालिले भने सरकारी नियम कार्यान्वय गरेरै सवारी चलाउने निर्णय भएको बताएको छ ।
तोकिएको भन्दा बढी भाडा असुल गरेको गुनासो आपूmहरूलाई नआएको स्वर्गद्वारी गौमुखीका कार्यालय प्रमुख धनश्याम घर्तीले बताए । ‘हामीले सरकारको नियम तथा सुरक्षा मापदण्द पालना गरेर बस चलाएका छौं, सरकारले तोकेको भन्दा बढी भाडा पनि हामीले उठाएका छैनौं’, उनले भने । सार्वजनिक सवारीसाधनले सरकारको नियम विपरीत गरेको सप्रमाण उजुरी आएमा तत्काल कारबाही गरिने उनको भनाइ छ ।
यात्रुहरूको गुनासो बढेसँगै अनुगमनलाई प्रभावकारी बनाउने तयारी जिल्ला प्रहरीले थालेको छ । देशमा कोरोना संक्रमणको जोखिम बढिरहेको बेलामा स्वास्थ्य सुरक्षाका विषयमा लापर्बाही गर्न नदिइने प्यूठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए ।