काठमाडौं । संविधानले निर्दिष्ट गरेअनुसार नेपालमा सङ्घीयताको कार्यान्वयन अब नयाँ चरणमा प्रवेश गरेको छ । स्थानीय निकायको निर्वाचनपछि थालिएको कार्यान्वयनको प्रक्रिया केन्द्रीय र प्रादेशिक तहको निर्वाचनसँगै कार्यान्वयनको थप चरणमा प्रवेश गरेको थियो ।
आइतवार सातै प्रदेशका निर्वाचित सांसदहरूले पद र गोपनीयताको शपथ लिएसँगै यसले अब कार्यान्वयनको अर्को चरण पार गरेको छ । आइतवार सातओटै प्रदेशमा निर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । गएको मङ्सिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधि र प्रदेशसभाको चुनावमा प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित प्रदेशतर्फका सांसदले शपथ लिएसँगै नेपालमा सातओटा प्रदेशसभाले औपचारिकता पाएको छ ।
सरकारले बुधवार सातओटै प्रदेशमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोकेपछि प्रदेशसभा गठनको प्रक्रिया शुरू भएको थियो । शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका प्रदेश प्रमुखहरूले आइतवार प्रदेश सांसदहरूलाई शपथ गराएका थिए । योसँगै देशमा सङ्घीयताअनुसार प्रदेश सरकार गठनका लागि औपचारिक बाटो खुला भएको छ । विश्वका सीमित देशमा मात्र अभ्यास गरिएको तीन तहको सङ्घीयताअन्तर्गत प्रदेश प्रणाली नेपालका लागि पहिलो हो ।
तीन चरणमा सम्पन्न भएको निर्वाचनबाट ७ सय ५३ स्थानीय तहमा जनप्रतिनिधिले काम शुरू गर्न थालिसकेका छन् भने अबको महीना दिनमा प्रदेश सरकारले समेत आफ्नो काम शुरू गर्ने छ । माघ २४ गतेका लागि तय गरिएको राष्ट्रिय सभाको निर्वाचनपछि केन्द्रीय संसद् र नयाँ सरकार गठनको कामले समेत पूर्णता पाउने छ । त्यसपछि नेपालको नयाँ संविधानअनुसार केन्द्र, प्रदेश र स्थानीय तह गरी तीन तहको सङ्घीयता कार्यान्वयन हुने विश्वास छ ।
शपथसँगै अब सात ओटै प्रदेशमा सभामुख, मुख्यमन्त्री र मन्त्रीहरूको चयन हुने छ । त्यसपछि प्रदेश सरकार र संसद्ले संविधानले दिएको जिम्मेवारीअनुसार आफ्नो काम थाल्ने छन् । देशमा यसअघि कायम रहेको पाँच विकास क्षेत्र र १४ अञ्चलले गर्ने काम प्रदेश सरकार गठन भएसँगै खारेज हुने छ । ७५ जिल्लाबाट भइरहेका काम कारबाही अहिले ७७ जिल्लाबाट हुन थालेका छन् । यसले देशको आर्थिक समृद्धिका लागि आवश्यक राजनीतिक स्थिरता कायम हुने आम अपेक्षा रहेको छ ।
प्रदेश प्रमुखहरूले शनिवार र आइतवार आफ्नो पदबहालीसँगै सातै प्रदेशका आ–आफ्ना प्रदेशका सांसदहरूलाई शपथ गराएका हुन् । प्रदेश प्रमुखले हरेक प्रदेशका ज्येष्ठ सदस्यलाई निर्वाचित सभामुख चयन नहुञ्जेलका लागि सभामुखकै रूपमा शपथ गराएका थिए भने ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथ गराएका हुन् । प्रदेशमा प्रत्यक्षतर्फ निर्वाचित ३ सय ३० र समानुपातिकबाट निर्वाचित २ सय २० गरी ५ सय ५० सांसदको कार्यकाल पाँच वर्षको हुनेछ ।
प्रदेश सरकारको गठन
निर्वाचन आयोगले माघ ३ गते प्रदेशतर्फको अन्तिम निर्वाचन परिणाम घोषणा गरेकाले उक्त मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान हुने छ भने ३० दिनभित्र मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ । संविधानमा उल्लेख भएअनुसार प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्र्ने छन् ।
यस्तै, प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् । त्यसपछि मुख्यमन्त्रीले आ–आफ्नो प्रदेशको मन्त्रिपरिषद्मा रहनेहरूको नाम सिफारिश गरी प्रदेश प्रमुखकहाँ पठाउने छन् । प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिशमा प्रदेशसभाका सदस्यमध्येबाट समावेशी सिद्धान्तका आधारमा मुख्यमन्त्रीसहित प्रदेशसभाका कूल सदस्य सङ्ख्याको २० प्रतिशतभन्दा बढी नहुने गरीे प्रदेश मन्त्रिपरिषद् गठन गर्ने संवैधानिक प्रावधान छ । सामान्य प्रशासन मन्त्रालयले आइतवार नै सातओटै प्रदेश प्रमुखको कार्यालय सञ्चालन गर्नका लागि कर्मचारीसमेत खटाएको छ ।
सातै प्रदेशमा शपथ
प्रदेश नम्बर १ का प्रदेश प्रमुख गोविन्द सुब्बाले त्यहाँका ९३ जना सांसदलाई सपथ गराएका छन् । यस्तै, सपथ ग्रहणका क्रममा उठेको भाषाको विवादका बीच दुई नम्बर प्रदेशका सांसदहरुले शपथ लिएका छन् । प्रदेश प्रमुख रत्नेश्वरलाल कायश्थबाट प्रदेश २ का १ सय ७ जना सांसदले नेपाली, मैथली, भोजपुरी र हिन्दी भाषामा सपथ लिएका छन् । यस्तै, प्रदेश प्रमुख अनुराधा कोइराला रहेको प्रदेश नं.३ मा १ सय १० जना सांसदले सपथ ग्रहण गरेका छन् । प्रदेश नम्बर ४ का प्रदेश प्रमुख बावुराम कुवँरले पदवहाली संगै प्रदेशका ६० जना मध्ये मनाङ ‘ख’ बाट विजयी राजिब गुरुङ(दीपक मनाङ्गे) वाहेक ५९ जनालाई सपथ गराएका छन् ।
५ नं प्रदेशका प्रमुख उमाकान्त झाले प्रदेशका ८७ जना सांसदलाई सपथ गराएका हुन् । यस्तै ६ नं. प्रदेशका प्रमुख दुर्गाकेशर खनालले ४० जनालाई सपथ ग्रहण गराएका थिए । प्रदेश नं ७ मा प्रदेश प्रमुख मोहनराज मल्लले ५३ जनालाई सपथ गराएका छन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.