अचेल सबैको मुखबाट सुनिन्छ, लोकतन्त्रले नेपाली जनतालाई के दियो त ? ल दिनु दियो नि । बोल्न सिकायो, हाँस्न सिकायो । डिस्कोमा गएर नाच्न सिकायो । शान्त भएर बाँच्न सिकायो । पहिले–पहिले झन्डा बोक्नेहरू सडकमा निस्कन्थे, जनताले ठूल्ठूलो स्वरमा चिच्याएर उनीहरूसँग आफ्ना समस्या व्यक्त गर्थे । कुनै समयमा पेट्रोलको मूल्य १ रुपैयाँ बढ्दा मात्रै पनि सरकारको निद हराम हुन्थ्यो । मानिशहरू सडकमा उत्रन्थे, भाषण गर्थे र पत्रपत्रिकाले अर्को दिन ठूलो हेडलाइन बनाउँथे, ‘महँगीले मार्यो, सरकार !’ भनिन्थ्यो कि यदि मानिसले खान लाउन पाएनन् भने उनीहरू कराउँछन् नै । तर अहिले समय बदलिएको छ ।
अचेल त सरकारको टाउको दुखाउन कसैलाई फुर्सद छैन । जय नेपाल र लालसलाम त काठमाडौंको फोहोरको थुप्रोमा सियो हराएझैं हराइसकेका छन् । अब सबैसँग सुख र समृद्धिको पासबुक छ । खाना, कपडा, डिजेल, पेट्रोल सबैसँग छ । शायद जनताहरू एक प्रकारले खुशी नै छन्, कमाइ पनि छ । स्वदेशबाट भएनछ भने पनि विदेशबाटै आउँछ । पेट्रोल ३० रुपैयाँ लिटर हुँदा चिच्याउने जनता, अहिले २०० रुपैयाँ लिटर पेट्रोल हालेर पनि मुस्कुराउँदै, ‘कार्यालय जाने र घर फर्किने मात्रै न हो, यसमा चूँ किन गर्नु ?’ भन्छन् । एक किसिमको अद्भूत शान्ति छ, मानौं हरेक नेपाली मस्तिष्क गहिरो ध्यानमा लीन छ । साक्षात् बुद्ध भगवान्को शान्ति छरिएको हो कि भन्ने छ ।
अचेल ‘चूँ’ भनेको एउटा विलासी शब्द जस्तो भइसकेको छ । जति महँगी बढे पनि, जति करहरूको बोझ थपिए पनि, जति ढलपल गरेर सडकको खाल्डामा मोटरसाइकल र गाडीको टायर फुत्किए पनि जनता चूप छन् । असामाजिक सञ्जालको कुरा बेग्लै हो । नेताहरू भने योजना सुनाउँदै छन्, ‘यो देशलाई स्वर्ग बनाउँछौं ।’ अनि जनता सोच्छन्, ‘अहिले पनि स्वर्गकै आभास भइरहेकै छ त । न खाने झन्झट, न बोल्ने तनाव ! फेरि यो नयाँ स्वर्ग किन चाहिया छ र ?’
असन्तुष्टहरू देश छाडेर गइसके । नजानेहरू यसै सन्तुष्ट छन् । लाग्छ, नेपाली जनताको जिन नै बदलिइसकेको छ । जनताले पनि बुझिसकेका छन् कि जाबो एउटा भोटको बदलामा कति धेरै विकासको आशा गर्ने हो र ?
अब त जनता पनि परिपक्व भइसके । केही युवा बेरोजगार भए पनि हात कसैको खाली छैन । किनकि अहिले सबैको हातहातमा मोबाइल पुगिसकेको छ । ‘फेसबुक चलाएर, टिकटक बनाएर पनि खान मिल्छ भने काम खोज्न किन जाऊँ’ भन्ने स्तरको विकास भइसकेको छ । त्यसैले जनता बोल्दैनन् । चुपचाप कि टिभी चलाउँछन् या मोबाइल समाउँछन्, अनि टिकटकको भिडियोमा रमाउँछन् । ‘फेसबुकमा फोटो हालेर लाइक पाउनुको मज्जै बेग्लै छ । टिकटकमा करोडौंको लाइक पाइन्छ भने जीवनमा त्यसभन्दा ठूलो उपलब्धि के होला र ?’
यसरी जनतालाई पनि ‘स्मार्ट’ बनाइसकिएको छ । स्मार्टफोन छ, स्मार्ट भुक्तानी छ, स्मार्ट नागरिकता छ, स्मार्ट पासपोर्ट छ । सरकार पनि ज्यादै स्मार्ट छ । त्यसैले होला धेरै वर्षदेखि स्मार्ट सिटी, स्मार्ट सिटी पनि भनिरहेको छ । अब त झन्डै सबै कुरा ‘स्मार्ट’ भइसकेको छ । कामको टेन्सन छैन, घरको चुल्हो नबले पनि ‘फुड डेलिभरी’ छ । जागीर खोज्न जानुपर्दैन । किनकि काम नै ‘फ्रिल्यान्स’ बन्छ । काम गर्न विदेश जान चाहनेका लागि सरकार आफै काम खोज्न विदेश जान थालेको धेरै भइसक्यो ।
एउटा सानो समस्या के मात्र छ भने जसले देश सम्हाल्ने जिम्मा पाएका छन्, उनीहरू चैं हल्लिरहेका छन् । तर अरू सबै स्थिर छन्, शान्त छन् । शासन गर्न त यस्तो जनता संसारमा कहाँ पाइन्छन् र ? यस्तो शान्ति कहाँ पाइन्छ र ? यस्तो दिन आइसकेको छ कि अब सरकार र टिभी–रेडियो बाहेक अरू कोही केही बोल्ने छैनन् । किनकि बोल्नलाई कुनै कुरा नै बाँकी छैन । खाना र पाखाना बाहेक कसैसँग कुनै काम नै छैन ।
त्यसैले त जनता मौन छन् । सबै ठीकठाक चलिरहेको छ । यस्तै हो भने हेर्दै जानुहोला अब एक दिन देश पनि मौन चलचित्र झैं हुनेछ । विपश्यना ध्यान केन्द्रमा गएर जो कसैले पनि केही नबोली, अझ इशारा पनि नगरी बस्ने अभ्यास गरेर स्वर्गीय अनुभूति लिन सिक्छन् । अब त पूरै देश नै विपश्यना केन्द्रजस्तै बनेको छ । सुनिन्छ, स्वर्गमा पनि यस्तै हुन्छ । र, रमाइलो कुरा के छ भने अब यो स्वर्ग जनताले जिउँदै देख्न पाउनेछन् । त्यसैले जिउँदो रहनु नै अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा हो । त्यसैले जिउँदो चैं रहनुस् है ?