काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपालको सडक सञ्जाल सुधार तथा वैदेशिक व्यापार सहजीकरणका लागि ३० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।
बैंकले विशेषगरी अन्तरराष्ट्रिय व्यापार मार्गको रूपमा रहेको काँकडभिट्टा–लौकाही सडक स्तरोन्नतिका लागि बुधवार उक्त ऋण सहायता स्वीकृत गरेको हो ।
उक्त सडक दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग कोरिडोरको एक हिस्सा भएको दक्षिण एसियाका लागि एडीबीको यातायात विशेषज्ञ सिन वाई चोङले बताएका छन् ।
‘स्तरीय पूर्वाधार, सुधारिएको कनेक्टिभिटी र सुरक्षित सडक सञ्जालले वैदेशिक व्यापारलाई टेवा दिनेछ,’ उनले भने, ‘यसले ग्रामीण समुदायको जीवनस्तरमा समेत सुधार गर्नेछ ।’
एडीबीको उक्त ऋण परिचालन गरी काँकडभिट्टादेखि लौकाहीसम्मको झन्डै ९५ किलोमिटर सडकलाई दुई लेनबाट चार लेनमा स्तरोन्नति गरिनेछ । यसअन्तर्गत ट्राफिक संकेतसहितका सडक क्रसिङ, फुटपाथ, बस स्टप लगायत संरचना समेत निर्माण गरिनेछ ।
सोही परियोजनामार्फत सडक सुरक्षा, स्वास्थ्य तथा सरसफाइ र मानव बेचबिखनविरुद्ध सामुदायिक सचेतना अभियान पनि सञ्चालन गरिने एडीबीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी एडीबीले आफ्नो प्राविधिक सहायता कोषबाट साढे ७ लाख अमेरिकी डलर अनुदान उपलब्ध गराउनेछ, जुन जलवायु परिवर्तन न्यूनीकरण लगायत प्रयोजनमा खर्च गरिनेछ ।