प्राधिकरणमा संस्थागत सुधार पहिलो प्राथमिकता
भदौ १, काठमाडौं । सेवालाई प्रभावकारी बनाउन संस्थागत सुधारलाई प्रथामिकता दिनुपर्ने ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । यसको शुरुवात सेवा प्रदान गरिने स्थानहरूमा सेवाग्राहीका लागि अत्यावश्यक सुविधाको व्यवस्था गरी गर्न सकिने उनको भनाइ रहेको छ । नेपाल विद्युत् प्राधिकरणको ३२औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री शाहीले यस्तो कुरा बताएका हुन् ।
‘नेपाल विद्युत् प्राधिकरणका काउण्टरहरूमा पिउने पानी, बस्ने बेञ्च, शौचालय तथा सरसफाइको राम्रो व्यवस्था गर्नुहोला,’ मन्त्री शाहीले भने, ‘आजको १० दिनपछि म प्राधिकरणको केन्द्रीय कार्यालय अनुगमन गर्न आउँछु र अन्यत्रको पनि अनुगमन हुनेछ ।’ सेवाग्राही अन्नदाता भएकाले उनीहरू आउँदा नमस्कार गरेर सम्मान गर्नु कर्मचारीको नैतिक जिम्मेवारी रहेको मन्त्री शाहीले बताए ।
कर्मचारीमा जवाफदेहीता हुने हो भने प्राधिकरणलाई एक गुणस्तरीय सेवा दिने विश्वासिलो संस्था बनाउन सकिने मन्त्री शाहीको भनाइ रहेको छ । ‘कुनै वितरण केन्द्रअन्तरगतको ट्रान्सफर्मर पड्कियो भने त्यहीँको केन्द्र प्रमुख जवाफदेही हुनुपर्छ,’ प्राविधिक पक्षको ज्ञान समेत प्रस्तुत गर्दै मन्त्री शाहीले प्रश्न गरे, ‘वितरण प्रणालीमा खराबी आउँदा असर ट्रान्सफर्मरमा नपर्ने गरी ब्रेकर किन राखिँदैन ?’ यसो हुनुमा कमिसनको खेल प्रमुख रहेको उनले बताए ।
प्राधिकरणलाई नाफामा लैजान उत्पादनमा वृद्धि तथा घाटामा जाने कारणको खोजी गरी सो शैलीमा परिवर्तन प्रमुख रहेको मन्त्री शाहीले बताए । उत्पादन, वितरण तथा आपूर्तिको एकाधिकार रहेको प्राधिकरण जस्तो संस्था घाटामा जानुमा राजनीतिक सत्ता र कर्मचारी सत्ता दुबै थरीको स्वार्थ कारण रहेको मन्त्री शाहीले औंल्याए । ‘यसलाई दुहुनो गाईलाई झैं चुसिरहे एकदिन बुढो भएर मर्छ,’ उनले भने ‘त्यसो हुन नदिन यसलाई यस्तो अवस्थामा पुर्याउनेको पहिचान गर्नु आवश्यक रहेको छ ।’
आफू मन्त्री भए लगत्तै उच्च तहका नेता तथा शक्तिकेन्द्रबाट प्राधिकरणको कर्मचारीको नाम उल्लेख गर्दै सरुवाका सम्बन्धमा नाम आउन थालेको मन्त्री शाहीले बताए । यसरी नेताका सोर्स लगाउने कर्मचारीको लिष्ट तयार पारी सुविधा पनि नपाउने दूर्गम क्षेत्रमा खटाउने मन्त्री शाहीले घोषणा गरे । साथै जायज कारण लिई आफूकहाँ सोझै भन्न आए उपयुक्त ठाउँमा सरुवा गराउन पहल गर्ने आश्वासन मन्त्री शाहीले दिए ।
प्राधिकरणको ट्रेड युनियन बढी राजनीतिक भएको भन्दै मन्त्री शाहीले भाषण गर्ने भए जागिर छोडेर राजनीतिमा लाग्न सुझाव दिए । ट्रेड युनियनको काम कर्मचारीको हक हितमा मात्र बोल्ने भएको र त्यसो गरेको खण्डमा आफू सधैं ट्रेड युनियनको पक्षमा रहने पनि उनले बताए । आफू कर्मचारीको सेवा सुविधा वृद्धिको योजनामा रहेकाले आफ्नो दायित्व पूरा गरी संस्थालाई अघि बढाउने दिशामा लाग्न सबै कर्मचारीलाई आग्रह पनि गरे ।
चुहावट नियन्त्रणका लागि स्मार्ट ग्रीड तथा स्मार्ट मिटरको व्यवस्था गर्ने योजनामा प्राधिकरण रहेको छ । चुहावट नियन्त्रण साथै उपभोक्ताको सहजका लागि चाँडै नै अनलाइन पेमेण्ट सिष्टममा जान लागेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ले बताए । ‘अहिलेलाई बिलिङ् अफलाइन र पेमेण्ट अनलाइनबाट गर्ने व्यवस्था गर्नेछौं,’ उनले भने, ‘स्मार्ट मिटरको व्यवस्थापछि दुबै काम अनलाइनबाटै गर्न सम्भव हुनेछ ।’
२–३ दिनभित्र मन्त्रालयमा हटलाइन सेवा राख्ने र प्राधिकरणका कर्मचारीबाट कार्यक्षेत्रमा भइरहेका राम्रा÷नराम्रा कामको प्रतिकृया उपभोक्ताबाट लिइने पनि मन्त्री शाहीले बताए ।
नाफाको दिशामा प्राधिकरण
प्राधिकरणले आर्थिक वर्ष २०७३/७४ मा मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्ष रू. ३ अर्ब ६ करोड ३९ लाख ८० हजार सञ्चालन घाटामा रहेको प्राधिकरणले गत आर्थिक वर्ष रू. २ अर्ब ४० करोड ७३ लाख ८० हजार सञ्चालन मुनाफा आर्जन गरेको हो । धेरै वर्षदेखि घाटामा रहेको प्राधिकरणले गत आर्थिक वर्ष खुद नोक्सान तर्फ पनि राम्रो सुधार गरेको छ । आर्थिक वर्ष २०७२÷७३ मा रू. ८ अर्ब ८९ करोड १ लाख ९० हजार खूद नोक्सानमा रहेको प्राधिकरण गत आर्थिक वर्ष केवल रू. ९७ करोड ८९ लाख २० हजार खुद नोक्सानको अवस्थामा आइपुगेको छ ।
एकै वर्षमा नाफा नोक्सानको अवस्थामा यत्तिको प्रगती हुनुमा अघिल्ला ऊर्जामन्त्री जनार्दन शर्माको प्रतिवद्धता र त्यसलाई कार्यान्वयन गराउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्को व्यवस्थापकीय कुशलता प्रमुख रहेको विश्लेषकहरू बताउँछन् । प्राधिकरणले भने विद्युत् चुहावटमा न्यूनीकरण, औसत विद्युत आयात दरमा कमी, विद्युत महशुल समायोजन, प्रमुख शहरमा नियमित विद्युत आपूर्ति र आंशिक रूपमा भएको वित्तीय पुनरसंरचना लगायतका संस्थागत सुधारले वित्तीय नोक्सानी घटाउन योगदान पुर्याएको बताएको छ ।
यही गतिमा थप सुधार गर्ने हो भने प्राधिकरणले आफ्नो घाटा अबको २ महीनामा पूर्ति गरी तेस्रो महीनाबाट नाफामा जाने ऊर्जामन्त्री शाहीले बताए । स्मार्ट मिटरको व्यवस्थासँगै मानवीय पक्षबाट हुने चुहावट अन्त्य हुन गई प्राधिकरण नाफामा जाने अवस्था आउने कार्यकारी निर्देशक घिसिङ्ले विश्वास व्यक्त गरे । प्राधिकरण १–२ दिन भित्रमै अनलाइन पेमेण्ट सिष्टमको उद्घाटन गर्न गइरहेको र चाँडै नै स्मार्ट मिटर जडान गर्ने तयारीमा रहेको पनि घिसिङ्ले जानकारी दिए ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.