काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओले पहिलो कारोबारको लागि रू. १०९ दशमलव १३ देखि ३२७ दशमलव ३९ ओपन रेञ्ज पाउने देखिएको छ ।
कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. १०९ दशमलव १३ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ ।
कम्पनीको आईपीओ चैत १७ गते बाँडफाँट भएको थियो । ३ लाख ५८ हजार १७६ जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् । कम्पनीले चैत ८ गतेदेखि १२ गतेसम्म ३५ लाख ८१ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।
कम्पनीले इलाम जिल्लामा ९ दशमलव ६ मेगावाट क्षमताको सुपरमाई ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ साल जेठ ३२ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । योजनाको कुल लागत रू. १ अर्ब ९० करोडभन्दा माथि रहेको छ ।