काठमाडौं । दुई विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि सांग्रिला डेभलपमेन्ट बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले भोलि अर्थात् मंसिर ११ गते बुक क्लोज गर्दैछन् ।
यस कारण आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले यी बैंकहरुको लाभांश प्राप्त गर्न तथा यी बैंकहरूको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष (आव)को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि बैंकले मङ्सिर २४ गते लैनचौर ब्याङ्क्वेट, लैनचौरमा १९ औं वार्षिक साधारण सभा डाकेको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
त्यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आवको मुनाफाबाट १० दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि बैंकले मंसिर २३ गते ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल प्रा. लि., मणिग्राम, रुपन्देहीमा पन्ध्रौं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।