काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले संस्थापक समूहको २ लाख ४ हजार ५३७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।
प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको उक्त शेयर कम्पनीले मङ्सिर २९ गतेदेखि पुस ६ गतेसम्मका लागि लिलामीमा ल्याएको हो । यी शेयरको मूल्य प्रतिकित्ता १४० रुपैयाँ तोकिएको छ ।
तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी विद्यमान संस्थापक शेयरधनी वा जो कोही व्यक्ति वा संस्थाहरूले आवेदन दिन सक्नेछन् । आवेदन एनआईसी एशिया क्यापिटलको कार्यालय थापाथली, काठमाडौंमा पेस गर्नुपर्नेछ ।
आवेदन दिँदा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यी शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरूले मङ्सिर २९ गतेपछि कम्पनीद्वारा घोषणा हुने लाभांश तथा हकप्रद शेयरसमेत प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ ।