अप्रत्याशित उतारचढावका कारण शेयरको दोस्रो बजारमा लगानीकर्ता स्थिर हुन सकेका छैनन् र पलायनसमेत भइरहेको पाइन्छ । नेपालमा शेयरबजारको प्रकृति हेर्दा बजार कति बेला के हुन्छ कुनै भर छैन । शेयरबजारमा शेयरबजारलाई वैज्ञानिक रूपमा बुझ्नेहरू भन्दा नबुझ्नेहरूको बाहुल्य बढी छ र केही भित्री चलखेल गर्नेहरू वा आफूलाई शेयरको ज्ञाता हुँ भन्नेहरूको पछि लाग्नेहरूले नै बरु बढी आम्दानी गरेको देखिन्छ । तर, कुनै कम्पनीको वासलात, नाफानोक्सान, प्रतिशेयर आम्दानी, उत्पादकत्वजस्ता प्राविधिक र वैज्ञानिक पक्षको अध्ययन गरेर लगानी गर्नेहरू बढी घाटामा गएको र मार परेको देखिन्छ । कम्पनीको नेटवर्थ हेरेर लगानी गर्ने हो तर यहाँ त ठीक उल्टो पो देखिन्छ । कम्पनीका आधारभूत सबै सूचक नकारात्मक भएको कम्पनीले सकारात्मक सर्किट हानेको देख्दा लगानीकर्ता छक्क पर्ने गरेका छन् ।
नेपालको शेयरबजारमा हल्लैहल्लाको भरमा मूल्य बढ्ने र घट्ने गर्छ भन्नेहरूको बहुमत देखिन्छ । यतिसम्म कि अर्थमन्त्री को आउँछ भनेर शेयर बढ्ने र घट्ने आकलन गरिन्छ र तदनुरूप परिवेश हेर्दा शेयरको माग र आपूर्ति हुने गर्छ । यसको अर्थ शेयरबजारसम्बन्धी ज्ञानका आधारमा मात्र शेयरमा लगानी गरिँदैन भन्ने देखिन्छ । शेयरबजारसम्बन्धी सरकारले कस्तो नीति बनाउँछ र मौद्रिक नीतिमा शेयरबजारसम्बन्धी कस्तो नीतिगत व्यवस्था गरिन्छ भन्ने आधारमा शेयरबजार घट्नु बढ्नुलाई वैज्ञानिक मान्न सकिन्छ । बैंक तथा वित्तीय संस्था अधिकांश नाफामा छन् तर किन शेयरको मूल्य घटेको, लघुवित्त अधिकांश घाटामा छन् र बजारमा नकारात्मक हल्ला पनि तुलनात्मक रूपमा बढी छ तर पनि किन शेयर मूल्य बढेको छ ?
अवैध चलखेल अर्थात् कर्नरिङ, इन्साइडर ट्रेडिङ आदिका कारण नै शेयरबजार स्थिर हुन नसकी उथलपुथल भइरहेको देखिन्छ । शेयरबजार अर्थतन्त्र चलायमान बनाउने एक मेरूदण्ड पनि भएकाले यसतर्फ सम्बद्ध निकायको बेलैमा ध्यान जानु जरुरी देखिन्छ ।
बैंकिङ क्षेत्रमा सबैभन्दा बढी मूल्य भनेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको रू. ५०० को हाराहारी देखिन्छ भने अधिकांशको रू. १५० देखि २०० को हाराहारीमा मूल्य कायम भएको देखिन्छ । तर, केही लघुवित्तको बढीमा रू. २००० वा त्योभन्दा बढी देखिन्छ । रू. ५०० भन्दा कम कुनै लघुवित्तको मूल्य देखिँदैन । जलविद्युत्को अवस्था पनि त्यस्तै छ । यसरी कुनै शेयरको अचाक्ली बढी मूल्य र कुनैमा अतिकम किन होला ? यसको सही जवाफ कसले देला ? यसबाट पनि बुझ्न सकिन्छ कि नेपालको शेयरबजार अवैज्ञानिक रूपमा मूल्यमा उथलपुथल भइरहेको छ । यस्तो प्रकृतिको घटबढले लगानीकर्ताको अर्बौं रुपैयाँ शेयरमा डुब्ने सम्भावना उतिकै प्रबल हुन्छ ।
हालै अर्थमन्त्रीले शेयरबजारलाई माथि उठाउने उद्देश्यले सुझाव संकलनमा तदारुकता देखाए र लगानीकर्तामा केही आशा पलायो । उनीहरूले शेयरमा लगानी बढाए तर सुधारको काम केही पनि नहुँदा तिनको ठूलो रकम डुबेको छ । शेयरबजार उच्च हुँदा तत्कालीन अवस्थामा ३२०० को हाराहारीमा पुगेको थियो तर हाल २००० को हाराहारीमा रुमलिएको छ । यसले गर्दा तत्कालीन अवस्थामा लगानी गरेका लगानीकर्ताको अर्बौं रकम शेयरमा डुबेको देखिन्छ । भारतलगायत देशमा शेयरको मूल्यले उच्चतम अंक कायम गर्दा नेपालमा शेयरबजार कमजोर देखिन्छ । आर्थिक मन्दीको असर त विश्वभरि नै छ । खुला सिमाना भएको देशको अर्थव्यवस्था कसरी सुदृढ भएको छ र कसरी शेयरबजार वैज्ञानिक रूपमा अगाडि बढेको छ भन्ने कुरा राजनीतिक आस्थाका आधारमा नियुक्त भई नेतृत्वमा पुग्नेलाई के थाहा ? भन्नेहरू पनि मनग्य छन् ।
शेयर भनेको के हो ? यसको मूल्य कसरी निर्धारण हुन्छ ? कुन कम्पनीको वित्तीय अवस्था कस्तो छ ? शेयर किन किन्ने ? शेयर कतिबेला विक्री गर्दा नाफा होला ? शेयरको मूल्य किन घटबढ भइरहन्छ ? मूल्यको घटबढले अर्थतन्त्रलाई कस्तो प्रभाव पार्छ ? भन्ने प्रश्नहरूको उत्तर खोज्न निकै कठिन छ । यसको राम्रो ज्ञान भएन भने शेयरबाट उचित प्रतिफल पाउन सकिँदैन र देशमा पूँजी परिचालन पनि सम्भव छैन । हाल अधिकांश कम्पनीको शेयर न्यूनतम मूल्यमा झरेको अवस्था छ तर ती कम्पनीको नाफा भने नराम्रो देखिँदैन । तथापि पछिल्लो समय आर्थिक मन्दीको कारण अधिकांश कम्पनीको नाफामा कमी आएको भने देखिन्छ । बढ्दा पनि शेयरको मूल्य किन बढ्दैन ? र नाफा घटी कम्पनी कमजोर अवस्थामा हुँदा पनि शेयरको मूल्य एकाएक किन बढ्छ ? यो कुरा अनुत्तरित देखिन्छ ।
नेपालको शेयरबजारलाई व्यवस्थित र भरपर्दो बनाउन विभिन्न नियम कानून बनेको छ र अनुगमनकारी निकायका रूपमा धितोपत्र बोर्डसमेत रहेको छ । तर पनि कानूनको एकातर्फ उचित कार्यान्वयनको अभाव छ भने अर्कोतर्फ धितोपत्र बोर्डको अनुगमन पर्याप्त देखिँदैन ।
सिद्धान्तत: पूँजी विकासको साधन हो । शेयरबजार पूँजीबजारको एक अभिन्न अंग हो । शेयर भनेको त लगानीको अंश वा अंशियार बन्नु हो । दीर्र्घकालीन अवधि १ वर्षभन्दा बढीका लागि लेनदेन गरिने बजारलाई पूँजी बजार वा शेयरबजार भन्ने गरिन्छ । यो दुई प्रकारको हुन्छ । प्राथमिक बजार र दोस्रो बजार । प्राथमिक बजारमा कम्पनी वा संस्थाबाट प्रथमपटक निष्कासित शेयर, ऋण पत्र आदि पर्छन् भने दोस्रो बजारमा प्राथमिक बजारबाट जारी भइसकेको शेयरहरूको किनबेच हुने गर्छ । नेपालमा दोस्रो बजारको कारोबार विसं २०५० माघदेखि भएको हो । हाल नेपालमा धितोपत्र बोर्डमा सूचीकृत कम्पनीको संख्या ३०० भन्दा बढी छ । डिम्याट खाता खोल्नेको संख्या करीब ६० लाखको हाराहारीमा छ । सक्रियता हेर्दा करीब २० लाखभन्दा बढी देखिन्छन् ।
दीर्घकालीन लगानी गर्ने वित्तीय संस्थाहरूदेखि लिएर औद्योगिक लगानीका लागि शेयर पूँजी परिचालन गर्ने धितोपत्र बजार र ऋणपत्र बजारसमेत यस परिभाषा अन्तर्गत पर्छन् । सबै वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनी मुद्रा तथा पूँजी बजारका अंग हुन सक्छन् । वाणिज्य बैंकले अल्पकालीन लगानीको अतिरिक्त दीर्घकालीन लगानी ऋण तथा शेयर सहभागिता गर्न सक्छ । त्यस्तै दीर्घकालीन पूँजी प्रवाहका लागि स्थापित विकास बैंकहरूले छोटो अवधिको सरकारी ऋणपत्रमा लगानी गर्न सक्छन् । संस्थागतभन्दा उपकरणगत प्रकृतिको आधार मुद्रा बजारमा अल्पकालीन निक्षेप, ट्रेजरी बिल, अल्पकालीन व्यावसायिक कर्जा, ओभरड्राफ्ट, टीटी आदिको उपयोग हुन्छ भने पूँजी बजारमा दीर्घकालीन निक्षेप, स्थिर पूँजीका लागि कर्जा, शेयर लामो अवधिका सरकारी ऋणपत्रहरू तथा लामो अवधिका ऋणजस्ता उपकरणको प्रयोग हुन्छ ।
नेपालको शेयरबजारलाई व्यवस्थित र भरपर्दो बनाउन विभिन्न नियम कानून बनेको छ र अनुगमनकारी निकायको रूपमा धितोपत्र बोर्डसमेत रहेको छ । तर पनि कानूनको एकातर्फ उचित कार्यान्वयनको अभाव छ भने अर्कोतर्फ धितोपत्र बोर्डको अनुगमन पर्याप्त देखिँदैन । त्यसो त शेयरबजार वा पूँजी बजारसम्बन्धी जनचेतनाको स्तरलाई हेर्ने हो भने कुल जनसंख्याको करीब २० प्रतिशतलाई मात्र शेयर र यसको किनबेच, महत्त्वबारे थाहा होला भन्ने अनुमान गर्न सकिन्छ । डिम्याट, धितोपत्र दलाल, आस्बाजस्ता कुराहरूको पर्याप्त जानकारीविना शेयर कारोबार असम्भव छ । शेयरबजारको मुख्य केन्द्र काठमाडौं रहे तापनि सूचनाप्रविधिको विकासको कारण देशका अधिकांश ठाउँबाट यसको कारोबार सम्भव छ । देशका निकै सीमित ठाउँमा धितोपत्र दलालको कार्यालय रहेको भएता पनि हाल शेयरको खरीदविक्री अनलाइनबाट नै गर्न सकिने व्यवस्था छ ।
हाल नेपालको शेयरबजार केही सीमित व्यक्तिले चलाएको जस्तो देखिन्छ । अवैध चलखेल अर्थात् कर्नरिङ, इन्साइडर ट्रेडिङ आदिको कारण नै शेयरबजार स्थिर हुन नसकी उथलपुथल भइरहेको देखिन्छ । शेयरबजार अर्थतन्त्र चलायमान बनाउने एक मेरूदण्ड पनि भएको हुँदा यसतर्फ सम्बद्ध निकायको बेलैमा ध्यान जानु जरुरी देखिन्छ । शेयरबजार संकुचन भएकाले हेर्दा आर्थिक मन्दीको कारण सूचीकृत कम्पनीको शेयर मूल्य घट्दै जानु, घरजग्गा कारोबारमा भइरहेको मन्दी, बैंक वित्तीय संस्थाले शेयर किन्न दिने ऋणमा गरेको कडाइ, धेरै बैंक वित्तीयसंस्थाहरूले राइट र बोनस शेयर दिइसकेकाले अब शेयर संख्या बढ्दैन भन्ने भावना, तरलतामा हुने बारम्बारको घटबढ, बैंकहरूप्रति जनमानसमा नकारात्मक हल्ला फैलाउनु, सहकारीको समस्या, लघुवित्त र विकास बैंकको ब्याजदरमा सीमा तोकिएको, बीमा कम्पनीको आम्दानीमा कमी, लगानीकर्ताको शेयर विक्री गर्ने प्रवृत्तिमा वृद्धि आदि देखिन्छन् । यसरी शेयरबजारका संकुचन किन आउँदछ भन्ने बुझ्न जरुरी छ ।
देशको अर्थ व्यवस्थामा भइरहेको घटना र परिघटनालाई दृष्टिगत गर्दै यसबारेमा जनचेतना जगाउने वा सम्बद्ध कर्मचारीसमेतलाई तालीम आवश्यक पर्छ । देशको अर्थ व्यवस्थामा पूँजीबजार वा शेयरबजारको भूमिकालाई हेर्दा औद्योगिक र आर्थिक विकास हुने, रोजगारी सृजना गर्ने, बजारमा तरलता र पूँजीको उपलब्धतामा सघाउने, सर्वसाधारण र कम्पनीहरूलाई लगानीप्रति आकर्षित गर्ने, पूँजी पलायन रोकिने, सरकारको वित्तीय नीतिलाई सहयोग हुने, लगानीको गुणस्तरमा वृद्धि हुने, दीर्घकालीन लगानी प्रवर्द्धन हुने हुँदा यो अर्थतन्त्रको मेरूदण्ड हो । पूँजी विनाको व्यवसायको कल्पना अधुरो हुन्छ । पूँजी संकलन र लगानीको मुख्य स्रोत नै शेयरबजार भएको हुँदा यसलाई निरुत्साहित गर्नु हुँदैन ।
हाल शेयरबजारमा देखिएका चुनौतीहरूमा निक्षेप तथा कर्जाको ब्याजदरको फराकिलो अन्तर, शहरी क्षेत्र र सीमित क्रियाकलापमा केन्द्रीकृत हुने प्रवृत्ति, कृषि घरेलु उद्योग तथा ग्रामीण अर्थतन्त्रमा लगानी गर्न नचाहने प्रवृत्ति, सेवा विस्तार गर्नुभन्दा संकुचित हुने प्रवृत्ति, दीर्घकालीन कर्जा प्रवाह गर्न नचाहने प्रवृत्ति आदि रहेका छन् । त्यसैगरी, लगानी गरिएको कर्जाको सुपरिवेक्षण राम्रो नभएको, खराब कर्जा अनुपात बढेको, व्यवस्थापनमा कमजोरी रहेको, ग्रामीण विकास बैंकहरू ठूलो सेवा विस्तार गर्न सक्ने अवस्थामा नरहेको, कर्मचारी सञ्चयकोष, बीमा संस्थान, नागरिक लगानी कोष आदि पूँजी बजारमा निर्णायक संस्थाहरू बैंकहरूको मुद्दती निक्षेप र राष्ट्रिय बचतपत्र खरीदमै केन्द्रित रहने प्रवृत्ति, वित्त कम्पनीहरू दीर्घकालीन निक्षेप संकलन गरी हायरपर्चेज, लिजिङ, दीर्घकालीन औद्योगिक कर्जा तथा शेयर मार्केटमा सहभागिता देखाउने कार्यका लागि स्थापना भए पनि तिनको निक्षेप समग्र बैंकिङ प्रणालीको सीमित प्रतिशत मात्र हुनु आदि पनि रहेका छन् ।
साथै नेपाली ऋणपत्र बजारमा सीमित प्रकारका ऋणपत्र र शेयर मात्र उपलब्ध, निजीक्षेत्र ऋणपत्र जारी गरेर वित्तीय साधन जुटाउनु, शेयर विक्री प्रवन्ध देशव्यापी रूपमा हुन नसक्नु, पब्लिक लिमिटेड कम्पनीका रूपमा उद्योग व्यवसाय संचालन गर्न नरुचाउने प्रवृत्ति हुनु, स्थापित पब्लिक लिमिटेड कम्पनीले पनि शेयर पूँजीको सट्टा ऋणद्वारा साधन पूर्ति गर्ने प्रवृत्तिले सूचीकृत संख्या कम हुनु, सूचीकृत कम्पनीहरूको पनि वासलात समयमै प्रकाशित नहुनु र लगानीकर्ता सुसूचित नहुनु, सीमित व्यक्तिले धितोपत्र बजारमा शेयर मूल्यमा उथलपुथल गर्नु, पोर्टफोलियो लगानी शुरू नहुनु नियमकहरू बीच शेयर बजारसम्बन्धी समस्याको समाधानमा पटकपटक पहल हुँदा पनि सरकार र नियमनकारी क्षेत्रबाट समस्याको सम्बोधन नहुँदा शेयरबजारमा उथलपुथल भइरहेको हो भन्नुमा अत्युक्ति नहोला ।
लेखक बैंक तथा वित्तीय संस्थाका विज्ञ हुन् ।