असोज ३, काठमाडौं । यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फूटबल सङ्घ (एन्फा)ले बुधवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गरी खेलतालिका सार्वजनिक गरेको हो ।
खेलतालिकाअनुसार असोज १३ गते शनिवार दिउँसो ३ बजे हुने प्रतियोगिताको उद्घाटन खेल न्युरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुने छ । १३ चरणसम्म खेलाइने लिगको खेल तालिका गोलाप्रथाद्वारा सार्वजनिक गरिएको हो । सो अवसरमा ‘ए’ डिभिजनका १४ ओटै क्लबका प्रतिनिधि सहभागी थिए । पहिलो चरणमा सात ओटा खेल हुनेछन् ।
पहिलो चरणका खेलहरू सकिएपछि असोज १९ गतेदेखि दोस्रो चरणका खेलहरू हुनेछन् ।
असोज २४ गतेदेखि तेस्रो चरणका खेलहरू हुनेछन् । तेस्रो चरणपछि चाडपर्व शुरु हुने भएकाले एक महिना लिग स्थगित हुनेछ । महत्वपूर्ण चाडपछि आगामी मङ्सिर २ गतेदेखि पुनः लिगका खेलहरू हुनेछन् ।
राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले रू. ५० लाख, उपविजेताले रू. ३५ लाख, तेस्रोले रू. २५ लाख पाउने छन् । लिगको चौंथो टोलीले रू. १५ लाख, पाँचौ टोलीले रू. सात लाख र छैटौँले रू. पाँच लाख पाउने छन् । फेयर प्ले टिमले रू. एक लाख पाउनेछ । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रू. ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रू. १० हजार दिनेछ ।
यस्तै लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लोपटक २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो ।
‘रेलिगेसनबिना’को लिग एन्फा अध्यक्ष शेर्पाले नियमित ‘रेलिगेसनसहित लिग सञ्चालन गर्न एक वर्ष समय लाग्ने हुनाले यसपटक फुटबलको रौनक ल्याउन रेलिगेसनबिनाको लिग गर्न लागेको बताए । चार वर्षदेखि ‘मोफसल’का खेलले नेपाली फुटबल धानेको बताउँदै उनले समय अभाव र क्लब मानसिकरूपमा तयार नभएका कारण यसपालि यस्तो निर्णय लिन बाध्य भएको जानकारी गराए ।
अर्को वर्षदेखि नियमित ‘रेलिगेसन’ सहितको लिग गर्ने एन्फाले जानकारी दिएको छ । एशियाली फूटलब सङ्घ (एफसी) र विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले नेपालमा फुटबलको रौनक सृजना गर्न रेलिगेसनबिनाको लिग गर्न अनुमति दिएको छ । रासस